इम्बोस्ड नम्बर नेपालीमा राख्ने योजना बनाइ रहेका छौँः उपप्रधान मन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले इम्बोस्ड नम्बर नेपालीमा राख्ने योजना बनाइरहेको बताएका छन् । आफूले मन्त्रालय सम्हालेको तीन महिना नाघेका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यस्ते बताएका हुन् ।
“इम्बोस्ड अङ्ग्रेजी भाषामा छ, यो नेपाली भाषामा पनि राख्नुपर्छ भनेर बहस भइरहेको छ”, उनले भने, “मन्त्रालयले इम्बोस्ड नम्बरलाई नेपाली राख्ने योजना अगाडि बढाइएको छ ।”
इम्बोस्ड नम्बर ‘रिड’ गर्न दुई स्थानमा ‘गेट’ निर्माण गरिने छ । उक्त नम्बर जडान गर्दा लाग्ने शुल्क पनि कम गर्ने तयारी गरिएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । “नम्बर जडान गर्दा लाग्ने शुल्क केकति उपभोक्ताबाट लिने भन्नेबारेमा छलफल भइरहेको छ”, उनले भने ।
त्यस्तै, उनले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताए । अबको आठ महिनापछि तीनदेखि सात दिनभित्र सवारी चालक अनुमतिपत्र दिने कार्ययोजना निर्माण गरिरहेको उनको दाबी छ ।
हाल सेवाग्राहीले सवारी चालक अनुमतिपत्र लिन झन्डै एक वर्ष कुर्नुपर्छ । मागअनुसार चालक अनुमतिपत्र छाप्न नसक्दा वितरणमा समस्या भएको उनको भनाइ छ । अहिले दैनिक छ हजार चालक अनुमतिपत्रको माग छ । तर दैनिक चार हजार अनुमतिपत्र मात्र छपाइ हुँदै आएको छ । अझै आठ लाख अनुमतिपत्र छाप्न बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।