आर्थिक विकासको मुख्य आधार पर्यटन बन्छː मन्त्री अधिकारी |
काठमाडौं । सोमबार काठमाडौंमा आयोजित नेपाल पर्यटन बोर्डको २० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पर्यटन उद्योगको भविष्य उज्यालो रहेको बताए । उनले २० वर्षभित्र पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक विकासको प्रमुख आधारको रुपमा विकास गर्ने योजना सरकारको रहेको बताए ।
मन्त्री अधिकारीले मुलुकको पर्यटन क्षेत्रको उल्लेख्य विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने पनि स्मरण गराए । उनले पर्यटन क्षेत्रको विकासका लागि सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा विकास गर्न लागिएको पनि बताए । पर्यटन क्षेत्रको विकासको लागि पूर्वाधारको अवस्थामा सुधार ल्याउन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको कामलाई सरकारले अघि बढाएको पनि स्पष्ट पारे ।
पर्यटन क्षेत्रको दीगो विकासमा जोड दिन पर्यटन व्यवसायीहरुलाई आग्रह गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने,ʽ पर्यटन क्षेत्रलाई सेवाको रुपमा नभई व्यापारको रुपमा मात्रै जोड दिनु हुदैन ।ʼ प्रमुख कार्यकारी अधिकृत जोशीले पर्यटन क्षेत्रको विकासका लागि सकारात्मक सोचका साथ अघि बढनुपर्ने आवश्यकता पनि औंल्याए । कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याउनेहरुलाई सम्मान समेत गरिएको थियो ।