उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित
काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सदस्यले मत दिएका थिए ।
नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् । उनले पाएको मतभार जम्मा १६ हजार ३२८ रह्यो ।
जनमत पार्टीकी उम्मेदवार ममता झालाई २३ संघीय सांसद र १५ प्रदेशसभा सदस्यले मत दिएका छन् । उनले पाएको मतभार कुल २ हजार ३३७ रह्यो ।
उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवलाई एक प्रदेशसभा सदस्यले भने मत दिएकी छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार शुक्रबार संसद भवन, बानेश्वरमा भएको मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मत दिएका थिए । चार जना प्रदेशसभा सदस्यको मत बदर भएको छ ।
उपराष्ट्रपति निर्वाचनमा संघका ३३३ संघीय सांसद र ५५० प्रदेशसभा सदस्य मतदाता छन् । र, संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ र, उपराष्ट्रपतिमा निर्वाचित हुन कुल मतभार ५२ हजार ६२८ को ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ ।