नेपाली राष्ट्रिय फुटबल टिमको जिम्मेवारी योहान कालिनलाई दिने तयारी |
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्विडेनका योहान कालिनलाई राष्ट्रिय फुटबल टिमको जिम्मेवारी दिने तयारी थालेको छ । एन्फाले ४२ वर्षीय स्विडिस नागरिक कालिकलाई २ वर्षका लागि मुख्य प्रशिक्षक बनाउने प्रक्रिया अघि बढाएको हो ।
विदेशी प्रशिक्षकको रुपमा कालिनको नियुक्ति प्रक्रिया अघि बढेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । सबै प्रक्रिया सकिएपछि सम्झौताको विषय सार्वजनिक गर्ने शेर्पाले बताए ।
यसअघि नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकमा जापानका ग्योतोकु कोजी थिए । नेपालमा ʽओभर स्टेʼ भएपछि कोजीलाई नेपाल प्रवेशका लागि १ वर्ष प्रतिबन्ध लगाइएको थियो । कोजी प्रतिबन्धमा परेपछि नेपालको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सम्हालेका थिए । महर्जनले बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिमको जिम्मेवारी पाएका थिए ।
कालिन कुनै पनि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्न लागेको यो पहिलो पटक हो । उनले युरोपियन फुटबल महासंघ (युइएफए) ए डिप्लोमा कोर्स गरेका छन्। । उनीसँग स्विडेनको एमेच्योर लिगको प्रशिक्षक भएको अनुभवका साथै स्विडेनको क्षेत्रीय स्तरका उमेर समूहका टिम सम्हालेको अनुभव छ ।
कालिन नेपालमा प्रशिक्षक बन्न आउन लागेको यो दोस्रो पटक हो । यसअघि उनले २०७० मा नेपालको ए डिभिजन क्लब मच्छिन्द्रको प्रशिक्षकमा नियुक्त भएका थिए । उनले सुपर लिगमा खेलेका सबै खेलमा जित हात पारेका थिए । त्यो सिजन मच्छिन्द्र राष्ट्रिय लिगमा दोस्रो भएको थियो ।
कालिन नेपालको राष्ट्रिय टिम सम्हाल्ने १७ औं विदेशी प्रशिक्षक हुनेछन्। । यसअघि ३८ वर्षको इतिहासमा १४ जना विदेशी प्रशिक्षकले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षक भएर काम गरेका थिए । नेपालको पहिलो विदेशी प्रशिक्षकको रुपमा सन् १९८१ मा जर्मनीका रुडी गुटेनडोफ नियुक्त भएका थिए ।
कभर तस्बिर ː गोलनेपाल डटकम