न्यू खिम्ती–बाह्रबिसे प्रसारण लाइनको ठेक्का तोडियो | ठेकेदारले ७४ प्रतिशत समयमा ८ प्रतिशत मात्र काम गर्यो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चिनियाँ ठेकेदार कम्पनीले ७४ प्रतिशत समयमा ८ प्रतिशत मात्र काम गरेको भन्दै तामकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको पहिलो खण्डको ठेक्का तोडेको छ ।
प्राधिकरणले चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रम (जोइन्ट भेन्चर) सँगको तामाकोसी–काठमाडौ प्रसारण लाइनअन्तर्गतको न्यू खिम्ती–बाह्रबिसे खण्डको ठेक्का केही दिन अघि तोडेको हो ।
प्राधिकरणले ठेकेदार कम्पनीले राखेको ठेक्का रकमको १० प्रतिशत अर्थात १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको छ । यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ बैंक जमानत पनि जफत गरिएको आयोजना प्रमुख नवराज ओझाले जानकारी दिएकका छन् ।
प्राधिकरणले कम्पनीसँग ११ असोज ०७३ मा १२ जेठ ०७६ मा निर्माण सम्पन्न गर्ने गरी १ करोड ४५ लाख ४३ हजार अमेरिकी डलर र ६१ करोड ६७ लाख ३६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।