स्थानीयका लागि युनिभर्सल पावरले २१ करोड रूपैयाँ बराबरको आईपीओ खोल्यो |
काठमाडौं । युनिभर्सल पावर कम्पनीले आज पुस १५ गतेदेखि एक सय रुपैयाँ अंकित दरको २१ करोड ३५ हजार रुपैयाँ बराबरको २१ लाख ३५० कित्ता साधारण शेयर निष्काशन खुला गरेको छ । यस आईपीओ आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरिशंकर, कालिञ्चोक, र विगु गाउँपालिकाका स्थानीयहरुले मात्र आवेदन गर्न पाउनेछन् ।
कम्पनीले आईपीओ निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । स्थानीयहरुले हिमालयन बैंक गौरिशंकर शाखा, सिद्धार्थ बैंक, एनआईसी एशिया, महालक्ष्मी विकास बैंक, र सिन्धु विकास बैंकको चरिकोट शाखा कार्यालय तथा सिन्धु विकास बैंकको मुडे र सिंगटी शाखा कार्यालयबाट पनि आइपीओमा आवेदन गर्न सक्नेछन् । आईपीओमा आवेदन गर्ने अन्तिम दिन पुस २९ गतेसम्म रहेको छ ।
स्थानीयले यस आईपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन गर्न सक्नेछन् । कम्पनीले निष्काशन गर्ने साधारण शेयरलाई रेटिङ्ग कम्पनी इक्रा नेपालले ुइक्रा एनएपि आईपिओ ग्रेड ४ु प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।
दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सल पावर कम्पनीमा ८८ प्रतिशत सीईडीबी हाइड्रो फण्ड लिमिटेडको शेयर स्वामित्व छ ।
आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ५५ लाख रुपैयाँका दरले २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीको २०७४ माघ ११ गते सम्पन्न विशेष साधारण सभा मार्फत साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । जस अनुसार स्थानीयका लागि गत जेठ १८ गते आइपिओ निष्काशनको अनुमति माग्दै कम्पनीले धितोपत्र बोर्डमा निवेदन पेश गरेकोमा बोर्डबाट मंसिर २७ गते गते अनुमति पाएको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड ४१ लाख ८९ हजार रुपैयाँ र जारी पूँजी दुई अर्ब १० करोड तीन लाख ५० हजार रूपैयाँ छ ।