तत्काल नबढ्ने भो इण्टरनेटको शुल्क | सरकारले सहमति कार्यान्वयन गर्ने दियो आश्वासन
काठमाडौं । इण्टरनेट सेवामा तत्काल शुल्क नबढ्ने भएको छ । इण्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इण्टरनेट सर्भिस प्रोभाइडर एशोसिएशन अफ नेपाल (आइस्पान) ले सरकारले सम्झौताअनुसार नै दूरसञ्चार नियमवाली संशोधन गर्ने आश्वासन दिएपछि तत्काल इण्टरनेटको शुल्क नबढाउने निर्णय गरेको हो ।
यसअघि व्यवसायीले सम्झौता भएको पाँच महिना बित्दा पनि सरकारले ध्यान नदिएको भन्दै आज पुस १५ गतेदेखि नै इण्टरनेटको शुल्क बढाउने चेतावनी दिएका थिए । इण्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आइस्पानका एक सदस्यले तत्काल शुल्क बढाउने निर्णय स्थगित भएको बताए ।
सरकारले ०७५÷७६ को बजेटमा इण्टरनेटमा १३ प्रतिशत अतिरिक्त दूरसञ्चार सेवा शुल्क (टीएससी) लगाउने नीति ल्याएपछि इण्टरनेट सेवा प्रदायकहरूले पनि आफ्नो सेवा शुल्क बढाउने तयारी गरेका थिए ।
सरकारले लगाउने अतिरिक्त कर ग्राहकबाटै असुल्ने भन्दै सेवा प्रदायकहरूले मूल्य बढाउने घोषणा गरेका थिए । तर, सरकारले सेवा प्रदायकहरूलाई बोलाएर मूल्य नबढाउन भन्दै दूरसञ्चार नियमवाली नै संशोधन गर्ने आश्वासन दिँदै इण्टरनेटको मूल्य समायोजन गर्ने सहमति गरेको थियो ।