अमेरिकी बैंकिङ संकटले भारतीय लगानीकर्ताको मनोबल कमजोर
अमेरिकाको बैंकिङ क्षेत्रमा देखा परेको संकटले भारतीय सेयर बजारमा पनि असर गरेको छ । भारतीय सेयर बजार अडानी संकटबाट बाहिर निस्कन खोजिरहेको बेलामा अमेरिकी बैंकहरु धमाधम असफल बन्न थालेपछि भारतीय लगानीकर्ताहरुको मनोबल पनि कमजोर बनेको हो । पछिल्लो ३ दिनको कारोबारमा भारतको प्रमुख सेयर बजार सूचक सेन्सेक्स २,११० अंकले घटेपछि भारतीय लगानीकर्ताहरुको ७३ खर्ब भारतीय रुपैयाँ बराबर सम्पति गुमेको छ ।
सोमबार पनि सेन्सेक्स १.५२% ले घटेपछि ५८,२३७ विन्दुमा आइपुगेको छ । यस्तै, अर्को सूचक निफ्टी ५० पनि १.४९% ले घटेर १७,१५४ विन्दुमा अडिएको छ । यससँगै, भारतीय सेयर बजार ५ महिनायताकै न्यून विन्दुमा आइपुगेको हो ।
सोमबार बैंकिङ सेक्टरका सेयरहरु बढी प्रभावित भएका छन् । अमेरिकाका ३ वटा बैंक सिल्भरगेट बैंक, सिलिकन भ्याली बैंक र सिक्नेचर बैंक संकटमा परेर बन्द भएपछि विश्वभरको बैंकिङ क्षेत्र प्रभावित बनेको छ । जसको प्रत्यक्ष असर सेयर बजारमा पनि परेको हो ।