रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित, पाैडेलकाे राजनीतिक यात्रा २०१७ देखि २०७९ सम्म,फर्केर हेर्दा
काठमाडौँ । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । आज भएको मतदानमा पौडेलले भारी मत ल्याएर जितेका हुन् ।
उनले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । पाैडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।
राष्ट्रपतिका लागि नेकपा एमालेका तर्फबाट पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका थिए ।
पौडेललाई माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए । माओवादी केन्द्रसहितका ८ दलको समर्थन पाएपछि राष्ट्रपतिको चुनावमा पौडेलले जित हासिल गरेका हुन् ।
पाैडेलकाे राजनीतिक यात्रा २०१७ देखि २०७९ सम्म
६० बर्ष लामो राजनीतिक जीवनमा जहिले पनि मध्यमार्गी भूमिकामा देखिएका पौडेल समकालीन नेताहरुमा स्वच्छ छवि भएका नेतामा पर्छन । पटक पटक लाभका पदमा पुग्दा पनि गम्भीर बिवादमा मुछिएका छैनन् । लामो राजनीतिक सक्रियता रामचन्द्रको प्रमुख पूँजी हो । ०१७ सालपछिका हरेक राजनीतिक संघर्षहरुमा उनी संलग्न रहेका छन् ।
काँग्रेसका नेताहरुमा विगतदेखि नै देखिएको ध्रुवीकरणमा उनले समन्वयकारी भूमिका राख्ने गरेको स्वयं पौडेलले दावी गर्ने गरेका छन् । पार्टीभित्र गुट र उपगुट जन्मिँदा पनि रामचन्द्रले कहिले आफ्नै गुट बनाएका छैनन् ।
लोकतान्त्रिक विधि र पद्धतिलाई जीवन दर्शन बनाउने अघिल्लो पुस्ताका नेताहरु बीपी कोइराला, गणेशमान सिंह,कृष्णप्रसाद भट्टराईकै पदचापलाई आजको बिकृत राजनीतिक परिवेशमा जोगाउन सक्नु पौडेलको बिशेषता मानिन्छ ।
पौडेल ०४८ को निर्वाचन जितेपछि स्थानीय विकास मन्त्री, ०५१ को मध्यावधि चुनावमा निर्वाचित भएपछि प्रतिनिधिसभामा सभामुख, ०५६ मा निर्वाचित भएपछि उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्री, ०६३ मा शान्ति तथा पुनर्निर्माण मन्त्री समेत बने ।
पार्टीमा भने ०६२ सालमा महामन्त्री, ०६४ सालमा उपसभापति र ०७२ मा कार्यवाहक सभापति भए । उनी २०१९ देखि ०४६ सालसम्मको राजनीतिक जीवनमा पटक–पटक गरी १३ वर्ष जेल जीवन बिताएका नेता हुन्।
यति लामाे राजनीतिक यात्रा रहेपनि मुलुककाे प्रमुख कार्यकारी प्रधानमन्त्री बन्ने उनकाे सपना भने अधुरै रह्याे । जव कि उनकै समकालीन शेरबहादुर देउवा पाँचाै पटकसम्म प्रधानमन्त्री बन्न सफल भए ।
२०६७ मा प्रधानमन्त्री पदमा १७ पटक पराजय भएकाे घटनाले उनलाई पद लाेलुपकाे ट्याग लाग्न नखाेजेकाे पनि हाेइन । तर,याे घटनामा उनी स्वयम् जति जिम्मेवार छन्, त्यो भन्दा बढी तत्कालीन संवैधानिक व्यवस्था जिम्मेवार रहेकाे विश्लेषण गरिन्छ । साे बेला १७ पटकसम्म पौडेलले झलनाथ खनालसँग प्रतिस्पर्धा गर्दा पनि दुवै जना प्रधानमन्त्री बन्न नसकेपछि निर्वाचन नियमावली शंसाेधन गर्नु परेकाे थियाे । संशाेधन पछि खनाल प्रधानमन्त्री बन्न सफल भएका थिए ।
पाैडेललाइ लाग्ने गरेकाे आराेप छ, उनी सानाे चित्त र लघुताभाषी छन् । त्यस्तै अर्काे आराेप छ, उनी पार्टीमा उनका कार्यकर्ताकाे संरक्षण गर्न जान्दैनन् ।
पार्टीका एक नेताकाे रूपमा उल्लेखित आराेपहरू लाग्ने गरे पनि नेता भन्दा माथि राष्ट्र प्रमुख बन्दै गर्दा ती आराेपहरू सान्दार्भिक नहुन सक्छन्।
राष्ट्र प्रमुखकाे रूपमा चयन भए पछि पाैडेलले संविधानकाे मर्म अनुसार काम गर्छन् या गर्दैनन्, मुख्य कुरा अब त्याे हुन्छ । अाउने दिनमा उनी पार्टीका रवर स्टाम्प हुन्छन् या सर्वस्वीकार्य देशकै अभिभावक, उनका कृयाकलाप र प्रयत्नले निर्धारण गर्ने छ ।
राष्ट्रपति चयन भएकै दिन धेरै टिप्पणाी गर्नु भन्दा पनि उनलाई सफल कार्यकालकाे शुभकामना दिनु बान्छनीय हुन्छ ।