राष्ट्रपतिको निर्वाचन आज, शितल निवास पुग्ने सम्भावना कसको बलियो ?
काठमाडौँ । निर्वाचन आयोगले आज अर्थात फागुन २५ मा राष्ट्रपति निर्वाचन तोकेको छ । आज बिहीबार दिउँसो ३ बजे सम्ममा मतदान सम्पन्न गरेर ४ बजेदेखि मतगणना गरी साँझ ७ बजेभित्रमा परिणाम प्रकाशित गरिसक्ने निर्वाचन आयोगको आन्तरिक तयारी रहेको छ ।
निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिका लागि नेकपा एमालेका तर्फबाट पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् । त्यसैगरी, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राष्ट्रपतिका लागि उम्मेदवारी दिएका छन् । नेम्बाङ र पौडेलबीच राष्ट्रपतिका लागि भिड्न्त हुने भएको छ ।
पौडेललाई नेपाली काँग्रेससहित ८ दलको समर्थन छ भने नेम्वाङलाई जिताउन नेकपा एमाले दिलो ज्यान दिएर लागेको छ । यसपालीको राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्रीमा १७ औं पटक असफल भएका पौडेलको शितल निवास पुग्ने सम्भावना बलियो देखिएको छ ।
पौडेललाई माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । माओवादी केन्द्रसहितका ८ दलको समर्थन पाएपछि राष्ट्रपतिको चुनावमा पौडेलको जित पक्का जस्तै छ ।
संघीय र प्रदेश सभाका सांसदको मतदानबाट राष्ट्रपति हुन कुल ५२ हजार ६२८ मत भारमा ५० प्रतिशत बढी अर्थात २६ हजार ३१५ मतभार पुर्याउनु पर्दछ ।
कांग्रेससँग १६ हजार १४२, माओवादीसँग ७ हजार ७४५, एकीकृत समाजवादीसँग दुई हजार ५७४, जसपासँग दुई हजार १४५ मतभार छ । जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चा पनि थपिएकाले २५ फागुनमा हुने निर्वाचनको नतिजाताप्रति पौडेल ढुक्क छन् ।