दुर्घटनाका घाइते लाई उपचार खर्च १५ लाखसम्म दिने प्रस्ताव |

काठमाडौं । यातायात व्यवस्था विभागले दुर्घटनाका उपचार तथा क्षतिपूर्ति बीमाबापत पीडित तथा परिवारले पाउने बीमा रकम वृद्धि गर्ने प्रस्ताव गरेको छ । कम्पनीका सवारी दुर्घटना हुँदा लाग्ने खर्च बीमाबाटै भुक्तानी गर्न पुग्ने गरी बीमांक रकम वृद्धिको प्रस्ताव गरिएको छ ।
हाल दुर्घटनामा घाइते भएकाहरुको उपचारमा लाग्ने र मृतकका परिवारको माग गर्ने बीमाबाहेक लाग्ने थप खर्च यातायात समितिहरुले बेर्होदै आएका छन् । तर, नयाँ म्यादअनुसार यातायात समितिहरु फागुन मसान्तपछि सबै कम्पनीमा परिणत हुनेछन् ।
विभागले दुर्घटनामा मृत्यु भएका परिवार, घाइते तथा गम्भीर घाइतेको उपचारमा लाग्ने खर्चको बीमांक रकम दोब्बर बनाउन चाहेको छ । यो प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि पठाइएको छ ।
विभागले दुर्घटनामा मृत्यु भएकाको परिवारलाई बीमाबापतको रकम १० लाख बनाउन प्रस्ताव गरेको छ । हाल यस्तो क्षतिपूर्ति रकम ५ लाख रुपैयाँमात्रै छ ।
यस्तै घाइतेको उपचारका लागि बीमा कम्पनीले ६ लाखसम्म बेहोर्ने गरी बीमा रकम बढाउन प्रस्ताव गरेको छ । हाल सवारी दुर्घटनामा घाइते भएकाहरुको उपचारमा ३ लाख रुपैयाँ खर्च मात्रै बीमा कम्पनीले बेहोर्ने गरेका छन् ।
अब दुर्घटनामा परेर टाउको तथा नसा सम्बन्धी गम्भीर बिरामी भएकाहरुको उपचारमा १५ लाखसम्म बीमा कम्पनीबाटै खर्च गर्ने गरी नयाँ बीमा नीति बनाउने विभागको प्रस्ताव छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले पनि यस विषयमा अध्ययन गर्न समिति गठन गरिसकेको छ ।
नेपाल इन्स्यारेन्सका सीईओ विजयबहादुर शाहको संयोजकत्वमा गठित समिति अध्ययनकै क्रममा छ । समितिमा एनएलजी, प्रुडेन्सियल, नेको र लुम्बिनी जनरलका सीईओहरु सदस्य रहेका छन् भने समितिका उपनिर्देशक सुशीलदेव सुवेदी सदस्य सचिव छन् ।
प्रतिवेदन बुझाएपछि आवश्यक निर्णय लिइने बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।