गुराँस लघुवित्तको दुई करोड ५० लाख रुपैयाँको आइपीओ आउदै |
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले दुई लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्काशनको लागि प्रकृया अगाडि बढाएको छ । संस्थाले दुई करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ । प्राथमिक शेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकमा एनआइवीएल एस क्यापिटलाई नियुक्त गरेको छ ।
संस्थाले दोस्रो वार्षिक साधारणसभाबाट प्राथमिक शेयर निष्काशनका लागि अनुमति पाएको थियो । प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।
नेपाल राष्ट्र बैंकबाट ʽघʼ वर्गको अनुमति प्राप्त संस्थाको १० वटा जिल्लामा कार्यक्षेत्र रहेको छ । २०७३ सालमा संचालन अनुमति प्राप्त संस्थाको प्रधान कार्यालय धनकुटामा रहेको छ ।