एएफआईको दुई वटा विषयगत कार्य समूहको बैंठक काठमाडौंंमा सुरु
काठमाडौं । अलाइन्स फर फाइनान्सियल इन्कुसन (एएफआई)को दुई वटा विषयगत कार्य समूहको बैठक काठमाडौंंमा सुरु भएको छ ।
नेपाल राष्ट्र बैंक र एएफआईको संयुक्त आयोजनामा इनक्लुसिभ ग्रिन फाइनान्स वर्किङ ग्रुप (आईजीएफडब्लूजी) र एसएमई फाइनान्स वर्किङ ग्रुप (एसएमइएफडब्लूजी)को बैठक सुरु भएको हो ।
आईजीएफडब्लूजी र एसएमइएफडब्लूजी बैठकको क्रमशः आठौँ र बिसौँ संस्करण हो ।
फागुन २६ गतेसम्म सञ्चालन हुने बैठकमा ४१ मुलुकका केन्द्रीय बैंक र वित्तीय क्षेत्रका अन्य नियामक निकायका ८० जना भन्दा बढी प्रतिनिधि सहभागी रहेका राष्ट्र बैकले जनाएको छ ।
बैठकको उद्घाटन सत्रमा नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले जलवायु परिवर्तनका कारण उदीयमान र विकासोन्मुख मुलुकको सामाजिक समावेशीकरण, आर्थिक समृद्धि र वित्तीय स्थायित्वमा जोखिम देखिएको उल्लेख गर्दै सोको न्यूनीकरणका लागि यससम्बन्धी नीतिगत व्यवस्थालाई सबल र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएकी थिइन् ।
ग्रिन फाइनान्सको प्रबर्द्धनका लागि नेपाल सरकार र राष्ट्र बैंकबाट अवलम्बन गरिएका पछिल्ला कानुनी र नीतिगत व्यवस्थाका सम्बन्धमासमेत उनले जानकारी दिइन् ।