तराईमा आज होली मनाइँदै
काठमाडौं । रंगहरूको पर्व होली आज तराईका जिल्लामाहरुमा मनाइँदै छ । पहाडमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ ।
होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा पनि सोमबार बिदा थियो । वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।