एनबिआई, सिबिफिन र पत्रकार महासंघको सहकार्यमा पत्रकार फेलोसिप कार्यक्रम घोषणा
उत्कृष्ट लेख लेखेबापत १५ पत्रकारले ४ लाख पुरस्कार पाउने
काठमाडौं । नेपाल पत्रकार महासंघसंगको सहकार्यमा बैंक तथा वित्तीय संस्था परिसंघ र नेपाल बिजनेस इन्टिस्च्युटले पत्रकारहरुबिच राष्ट्रब्यापी लेख लेखन प्रतियोगीता शुरु गरेका छन् । वर्तमान अवस्थामा देखिएका आर्थिक समस्याहरुको समाधान र यसको रोडम्यापबारे राष्ट्रियस्तरमा बहस पैरवी गर्दै समाधानको निचोड निकाल्नका लागि प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएका छन् ।
वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र विषयमा २५०० शब्द नबढ्ने गरी देशभरका पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु र स्तम्भकारहरुले लेख पठाउन सक्ने नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले जानकारी दिए ।
उत्कृष्ट १५ लेखका लेखकलाई सम्माननीय प्रधानमन्त्रीको हातबाट प्रमाणपत्रका साथै प्रथम, द्वितिय, तृतीय, चौथो र पाँचौ पुरस्कारकारुपमा क्रमशः १ लाख,७५ हजार,. ५० हजार,२५ हजार र १५ हजारका दरले सम्मान गरिने छ । साथै उत्कृष्ट १० लेखलाई प्रति लेखबापत रु. १० हजारका दरले नगद तथा प्रमाणपत्रमार्फत प्रोत्साहन रकम उपलब्ध गराइने आयोजकले जनाएका छन् ।
नेपाल सरकारसहितको सहभागीतामा २०८० साल बैशाख पहिलो हप्ता काठमाडौंमा आयोजना हुने नेपाल बिजनेस समिटको पुर्वसन्ध्यामा जर्नालिष्ट फेलोसिप कार्यक्रम आयोजना गरिएको नेपाल बिजनेस इन्स्टिच्युटका अध्यक्ष विशाल गैरले जानकारी दिए । उनका अनुसार अर्थतन्त्रका प्रमुख चुनौती, अवसर र भावी रोडम्यापबारे पत्रकारहरुकोे सृजनशील क्षमताबाट प्राप्त लेखलाई प्रोत्साहन गरी राष्ट्रिय अर्थतन्त्रको सबलीकरण गर्ने उद्देश्यले यो प्रतियोगीता आयोजना गरिएको हो ।
नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कुनै पनि सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले यो प्रतियोगीतामा भाग लिन सक्ने बताए । उनका अनुसार सहभागी पत्रकारले आफु कार्यरत सञ्चार माध्यमको पुष्टि हुने पत्रकार परिचय पत्र, नियुक्ती पत्र वा मिडिया हाउसको पत्र (कुनै एक) सहित कतै पनि प्रकाशित नभएको खोजमुलक र तथ्यपरक लेख अनलाइनमार्फत २०७९ साल चैत्र १३ गतेभित्र https://nepalbusinesssummit.com/article-competition मा गएर आवेदन दिन सकिने छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का महानिर्देशक डा. गोपाल तिवारीले लेखको मौलिकता, तथ्यपरकता र लेखले औल्याएका भावी मार्गदर्शनलाई छनौटको आधार बनाइने जानकारी दिए । अनलाइन माध्यमबाट प्राप्त लेखहरुलाई ५ सदस्यीय छनौट समितिले विभिन्न मापदण्डका आधारमा छनौट गर्नेछ र छनौट भएका उत्कृष्ट लेखहरुलाई नेपाल बिजनेस समिटको समुद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्रीको हातबाट पुरस्कृत गरिने जनाइएको छ ।