सरकारले चैत १५ र १६ मा लगानी सम्मेलनको आयोजना गर्ने |
काठमाडौं । नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले लगानी सम्मेलन गर्ने भएको छ । लगानी बोर्ड, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना र निजी क्षेत्रको सह−आयोजनामा सम्मेलन हुन लागेको बिहीबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
नेपालको दीर्घकालीन विकासको सोचलाई पुरा गर्न सम्मेलन आयोजना गर्न लागिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । नेपालको तुलनात्मक लाभ र बजार प्रवद्र्धन गर्न सकिने र निर्यातको संभावना रहेका क्षेत्रमा निजी लगानी प्रोत्साहित गरिने उनले बताए ।
कृषिको व्यावसायीकरण, ऊर्जा, सडक, रेल हवाई, औद्योगिक र सूचना प्रविधिका क्षेत्रलाई प्राथमिकतामा राखेर सम्मेलन गर्न लागिएको हो । राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका लगानीकर्ता, वित्तीय संस्था, गैरआवासीय नेपाली र बिषय विज्ञहरु सम्मेलनमा सहभागी हुनेछन् ।
नेपालमा लगानीको वातावरणमा भएका सुधारलाई प्रस्तुत गरिने भन्दै उनले अब १ दर्जन कानुनी सुधार गर्ने बताए । उनले विश्व बैंकको डुइङ बिजिनेस इन्डेक्स सुधार गर्न आग्रह गरिएको बताए । त्यसमा विश्व बैंकले काम गरिरहेको उनले जानकारी दिए ।
लगानी बोर्डलाई शक्तिशाली र प्रभावकारी बनाउन त्यसको ऐन छिट्टै मन्त्रिपरिषद लैजाने बताए । सार्वजनिक खरिद ऐन, कम्पनी ऐन, विदेशी विनिमय ऐन, औद्योगिक व्यवसाय ऐन र नियमावली, विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन संशोधनका क्रममा रहेको उनले जानकारी दिए ।
०७३ सालमा पहिलो पटक गरिएको ‘लगानी सम्मेलन’ पछि लगानीको वातावरणमा भएको सुधारको समीक्षा गर्न पनि पुनः सम्मेलन गर्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।
लगानीका लागि सम्भाव्य देखिएका नयाँ क्षेत्र तथा बदलिँदो क्षेत्रीय एवं अन्तरराष्ट्रिय आर्थिक परिवेशमा नेपालको तुलनात्मक लाभका क्षेत्रमा भएका परिवर्तन समेतमा अद्यावधिक हुने र यसअघि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएका आयोजनाहरुलाई कार्यान्वयनतर्फ लैजान सहयोग पुर्याउने उनको भनाइ छ ।