भारत नेपालसँग इनर्जी बैंकिङ गर्न सहमत | जनवरीमा बस्ने बैठकले अनुमोदन गर्ने
काठमाडौं । वर्षायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा भारतबाट लिने गरी इनर्जी बैंकिङ्ग गर्ने प्रस्ताव अगाडि बढाएको नेपालले सफलता पाएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत आदानप्रदान समिति (पावर एक्स्चेन्ज कमिटी ‘पीइसी’) को १३ औं बैठकमा दुई मुलुक इनर्जी बैंकिङ्ग गर्न सहमत भएका हुन् ।
नेपालतर्फको बैठकको नेतृत्व गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई मुलुकका विद्युत टे«डर मार्फत इनर्जी बैकिङ गर्ने सहमति भएको जानकारी दिए । पीईसीको बैठकले इनर्जी बैकिङको विधि र प्रारुप समेटिएको निर्देशिकाको मस्यौदामा सहमति जुटाई अन्तिमरुप दिएको हो ।
इनर्जी बैकिङको विधि र प्रारुप समेटिएको निर्देशिकालाई आगामी जनवरीमा बस्ने दुई मुलुकबीचको सहसचिवस्तरीय ‘ज्वाइन्ट वर्किङ गु्रप’ र सचिवस्तरीय ‘ज्वाइन्ट स्टेरिङ कमिटी’ को बैठकले अनुमोदन गर्नेछ । यसअघि ‘ज्वाइन्ट स्टेरिङ कमिटी’ ले इनर्जी बैकिङको विधि र प्रारुप तयार गर्न दुई मुलुकबीचको प्राविधिक कमिटीलाई निर्देशन दिएको थियो ।
पीईसी बैठकले नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो क्रस बोर्डर प्रसारणलाइन निर्माण अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा सहभागी प्राधिकरणका प्रवक्ता एवम विद्युत व्यापार विभाग प्रमुख प्रबल अधिकारीले नेपालले शुरुका ५⁄७ वर्ष इनर्जी बुक गर्ने प्रस्ताव गरेको र त्यसमा भारत सकारात्मक रहेको बताए ।
खरीद दरको निर्णय पछि गरिने
११ औं पीइसीको निर्णयअनुसार प्राधिकरणले अहिले ३३ र १३२ केभी प्रसारण लाइनमार्फत प्रतियुनिट ६ र ५.५५ भारुमा विद्युत खरिद गरी आयात गरिरहेको छ । बढी विद्युत माग हुने पिक आवर र अफ्ट्यारो परेको वेला मात्रै बिहारबाट पिइसीले तय गरेको दरमा भारतबाट विद्युत आयात गरिएको प्राधिकरणले जनाएको छ ।
बिहारबाट सिराहा, जलेश्वर, विरगंज, विराटनगरमा ३३ केभी र कुशाहा–१, कुशाहा–२, गण्डक र परवानीपुरबाट १३२ केभी प्रसारण लाइनमार्फत विद्युत आयात हुन्छ । उत्तरप्रदेशबाट ३३ केभीमार्फत नेपालगंजमा र उत्तराखण्डबाट ११ केभीमार्फत विद्युत आयात गरी दार्चुला र बैतडीमा आपुर्ति गरिन्छ ।
प्राधिकरणले ५ जुलाई २०१८ मा सम्पन्न पीइसीको १२ औं बैठकमा आयात भइरहेको दरमा कत्ति पनि भाउ बढाउन नसकिने अडान लिएपछि तीन महिनापछि पुनः बैठक बसेर दर तय गर्ने निर्णय भएको थियो ।