सुपरमाई हाइड्रोपावरको नाफा ३३.१२ प्रतिशतले घट्यो |
काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३३.१२ प्रतिशतले घटेको छ ।
समिक्षा अवधिमा कम्पनीले ५ करोड १ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । जबकी गत आवको सोही अवधिमा कम्पनीले ७ करोड ५० लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको नाफामा असर गरेको हो । पुस मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट १३ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट १४ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको वित्तीय खर्च पनि बढेको छ । पुस मसान्तसम्म कम्पनीको वित्तीय खर्च ४ करोड ७६ लाख रुपैयाँ रहेको छ । कम्पनीको अन्य आम्दानी ९ लाख ५३ हजार रुपैयाँ रहेको छ ।
हाल ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रति शेयर आम्दानी १२.५५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११३.२५ रुपैयाँ रहेको छ ।