आकस्मिक विदाको दिन पनि बैंक खोल्नुपर्ने |
काठमाडौं । आकस्मिक सरकारी विदाको दिन पनि अत्यावश्यक बैंकिङ्ग सेवा प्रदान गर्ने गरी ३ घण्टा बैंक खोल्नुपर्ने भएको छ।
शुक्रबार राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार,चेक क्लियरिंग,आरटिजिएस लगायत अत्यावश्यक बैंकिंग सेवा प्रदान गर्न विहान १०ः०० देखि दिउसो १ः३० बजेसम्म इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरेको छ।
नेपाल राष्ट्र बैंक खुलेको दिन तथा राष्ट्र बैंकको बैकिङ कार्यालयले बैकिङ कारोवार गर्ने समयसम्म इजाजतपत्र प्राप्त संस्थाहरुले अनिवार्य रुपमा आफ्नो कार्यालय खोली बैकिङ कारोवार सञ्चालन गर्नु पर्नेछ ।
तर, इजाजतपत्रप्राप्त संस्थाहरुले नेपाल राष्ट्र बैंक खुलेको दिन र समयका अतिरिक्त समय तथा अन्य विदाका दिन र समयमा आफ्नो कारोबार सञ्चालन गर्ने भएमा राष्ट्र बैकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा लिखित रुपमा पूर्व जानकारी दिई कारोबार सञ्चालन गर्न सक्ने छन्।