लघुवित्त कम्पनीहरुमा नकारात्मक सर्किट, नेप्से ५७.७४ अंकले घट्यो |
काठमाडौं । सेयर बजारमा बिहीबार भारी गिरावट देखिएको छ । लघुवित्त कम्पनीहरुमा नकारात्मक सर्किट लागेर गिरावट आएपछि नेप्से सूचक ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा आइपुगेको छ ।
यस दिन नेप्सेमा सूचीकृत सबै समूहमा गिरावट आएको छ । लघुवित्त समूह ९.५४% ले घटेको छ । अधिकांश लघुवित्त कम्पनीहरुको सेयर भाउमा १०% को गिरावट आएको छ । लघुवित्तले ड्रयाग गरेपछि समग्र बजार सूचकमै ठूलो ह्रास आएको हो । यस दिन सबैभन्दा धेरै छिमेक लघुवित्तको ८ करोड रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।
पछिल्लो केही समययता लघुवित्त कम्पनीहरुका कारण ऋणीहरु समस्यामा परेका घटनाहरु बाहिर आइरहेका छन् । बुधबार राष्ट्र बैंकले पनि लघुवित्त कम्पनीहरुका लागि निर्देशिका जारी गर्दै लाभांश वितरणमा कडाई गर्ने नीति लिएको छ । जसका कारण लगानीकर्ताहरु थप प्यानिक बनेको देखिन्छ । लघुवित्त कम्पनीका बारेमा नकारात्मक टिप्पणीहरु आइरहेका बेला केन्द्रीय बैंकले थप कडाई गर्ने नीति लिएपछि लगानीकर्ताहरुले धमाधम लघुवित्त कम्पनीहरुको सेयर डम्प गरेका हुन् ।
राष्ट्र बैंकले लघुवित्तहरुले वार्षिक १५% भन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५% भन्दा माथिको प्रस्तावित लाभांशको ५०% रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै, ३५% ले हुने रकम ग्राहक संरक्षण कोषमा र १०% ले हुने रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा थप जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । जसका कारण लगानीकर्ताहरु प्यानिक सेलमा गएको देखिन्छ ।