धरहरा पुनर्निर्माणको शिलान्यास आज हुँदै | कस्तो बन्दै छ नयाँ धरहरा ?
काठमाडौं । आज धरहरा पुनर्निर्माणको औपचारिक शुभारम्भ गरिदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे पुनर्निर्माणको शिलान्यास गर्दैछन् । भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पमा भत्किएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको जिम्मा जीआईईटीसी−रमन जेभीलाई दिएको छ ।
भूकम्पले भत्किएको धरहरालाई भने सिसाभित्र राखेर संरक्षण गरिने प्राधिकरणले जनाएको छ । त्यसकै छेउँमा पुरानो स्वरुपमा आधुनिक सुविधा भएको बलियो धरहरा बनाउन लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा मेरो धरहरा मै बनाउँछु अभियान सुरु गरेका थिए । तर, पुनर्निर्माण शुरु हुन सकेको थिएन । त्यसको झण्डै चार वर्षपछि प्रधानमन्त्री ओलीले नै पुनर्निर्माणको शिलान्यास गर्न लागेका हुन् ।
कस्तो बन्दैछ धरहरा ?
२९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् । धरहरा ११ तलाको बन्नेछ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ ।
विसं १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । धरहरामा भर्याङ चढेर होइन, लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ ।
अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको छ ।