टर्की-सिरियामा फेरि ६.४ म्याग्निच्युडको भूकम्प, ३ जनाको मृत्यु, २९४ घाइते |
काठमाडौं । सोमबार राति ८ बजेर ४ मिनेटमा टर्की र सिरियामा १४ दिनपछि फेरि भूकम्पको धक्का महसुस गरिएको छ। रेक्टर स्केलमा यसको तीव्रता ६.४ थियो। यसको केन्द्र अन्टाक्या प्रान्तको हताय शहर थियो।
भूकम्पको गहिराई २ किलोमिटरसम्म रहेको थियो। त्यसपछिका परकम्पहरूको तीव्रता ३.४ देखि ५.८ थियो। जसका कारण ३ जनाको मृत्यु भएको छ भने २९४ जना घाइते भएका छन्।
टर्की–सिरियाको सीमा क्षेत्रमा ६८ घण्टामा ११ पटक भूकम्प गएको छ। टर्कीको अनादोलु समाचार एजेन्सीका सरकारी स्रोतका अनुसार तीन ठाउँमा खोजी र उद्धार कार्य जारी छ। सोमबारको भूकम्पको धक्का लेबनान, इजरायल र साइप्रसमा पनि महसुस गरिएको थियो। युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रका अनुसार थप परकम्पहरूको सामना गर्नुपर्ने हुनसक्छ।
मृत्यु हुनेको संख्या ४७ हजार नाघ्यो
टर्की र सिरियामा फेब्रुअरी ६ मा गएको तीनवटा ठूला भूकम्पका कारण मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार दुवै देशका २ करोड ६० लाख मानिसलाई सहयोग आवश्यक छ। विगत ७५ वर्षमा पहिलो पटक डब्ल्यूएचओले यति ठूलो मात्रामा उद्धार कार्य सञ्चालन गरिरहेको छ।
भग्नावशेषमा बेलुन बाँधेर श्रद्धाञ्जली अर्पण
टर्कीमा सामाजिक कार्यकर्ताहरूले भग्नावशेषमा रातो बेलुन राखेर दुःखद घटनामा मारिएका बालबालिकालाई श्रद्धाञ्जली अर्पण गरेका छन्। भग्नावशेषमा विभिन्न ठाउँमा एक हजारदेखि एक हजार ५०० बेलुन बाँधिएको आयोजना प्रमुख ओग्वेन सिवर ओकुरले बताए। प्रत्येक बेलुनले भूकम्पमा ज्यान गुमाएका बालबालिकाको सम्झना गराउँदछ। यस परियोजना अन्तर्गत थप बेलुनहरू बाँधिनेछ।