एनआइसी एसिया लघुवित्तको अध्यक्षमा राठी र सञ्चालकमा भारी नियुक्त |
काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सन्तोष कुमार राठी र सञ्चालकमा दिनेश भारी नियुक्त भएका छन् ।
संस्थाको संस्थापक एनआइसी एसिया बैंक लिमिटेडको ५ गते बसेको सञ्चालक समितिको ५९०औं बैठकले उनीहरुलाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाएको थियो । लघुवित्तको ८ गते बसेको १६६औं सञ्चालक समितिको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि उनीहरुलाई नियुक्त गरेको हो ।
उक्त सञ्चालक समिति बैठकबाट नै संस्थाको नियमावलीमा भएको व्यवस्थाबमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा सञ्चालक राठीलाई संस्थाको सञ्चालक समितिको अध्यक्ष चयन गरिएको उक्त संस्थाले जनाएको छ । उक्त पदमा यसअघि सञ्चालकहरु कपिल ढकाल र प्रकाश बराल संस्थापक समूहमा संस्थापक एनआइसी एसिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आइरहेका थिए ।
नवनियुक्त सञ्चालक (अध्यक्ष) राठीले ८ गते प्रचलित कानुन तथा नियमानुसार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टसमक्ष सपथ ग्रहण गरी सोही दिनबाट पद बहाल गरेका छन् । त्यस्तै सञ्चालक भारीले संस्थाका अध्यक्ष राठीसमक्ष सपथ ग्रहण गरी पद बहाल गरेको लघुवित्तले जनाएको छ ।
राठी र भारी हाल एनआइसी एसिया बैंकमा क्रमशः नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानुन अधिकृतमा कार्यरत छन् । राठीको बैंकिङ क्षेत्रमा करिब २० वर्षको अनुभव छ भने भारीको कानुन तथा बैंकिङ क्षेत्रमा करिब २२ वर्षको अनुभव छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले १६६औं सञ्चालक समितिको बैठकमा उच्चतम बैंकिङ अनुभव प्राप्त व्यक्तिहरुलाई संस्थाको सञ्चालकका रुपमा स्वागत गरेका थिए ।