पूँजी बजारलाई राष्ट्र बैंकले दियो बम्पर स्किम | नेप्से ३० अंकले उक्लियो, ७० करोडको कारोबार
काठमाडौं । अर्थमन्त्रालयको कार्यदलले दिएको सुझाबमध्ये राष्ट्र बैंकले शेयर बजारसँग सम्बन्धित अधिकांस मागलाई संबोधन गरेको छ । यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिएको छ । बुधबार नेप्से सूचक ३० अंक बढीले उकालो लाग्दा झण्डै ७० करोड बराबरको शेयर किनबेच भएको छ ।
शेयर बजारका समस्याहरु सम्बोधन हुने आशामा बजार खुल्नासाथ लगानीकर्तामा केहि उत्साह देखियो । कारोबार खुलेको सुरुवाती समयमै बजारले बढ्ने संकेत देखायो ।
बजार चलिनै रहदा एक्कासी राष्ट्र बैंकको निर्देशन आयो । यसले शेयरबजारमा थप उत्साह जागेपछि बजार तथा कारोबार रकम बढ्न थाल्यो । बुधबार नेप्से ३०.२६ अंकले बढेर १२१६.२७ अंकमा पुगेको छ । यसदिन १७३ कम्पनीको १९ लाख १०३ कित्ता शेयर ६९ करोड २६ लाख रुपैयाँ बराबरमा किनबेच भए ।
कार्यदले दिएको ५८ बुँदे सुजाब मध्ये २७ वटा राष्ट्र बैंकले कार्यान्वयन गर्नु पर्ने खालका छन् । स्प्रेड दर घटाएर यसको गणना मासिक गर्न निर्देशन दिइएको छ । संस्थागत निक्षेपको सीमा ४५ बाट बढाएर ५० पुर्याइएको छ। आधार दर गणना विधि परिमार्जन गरि अहिलेकै अवस्थामा पनि ऋणको ब्याज ०.७५ प्रतिशत बिन्दुले कम गरिएको छ । यसैगरी शेयर धितो ऋण दिँदा मूल्यांकनको ५० प्रतिशतको सीमालाई बढाएर ६५ प्रतिशत पुर्याइएको छ । रिक्स वेटेजलाई १५० बाट झारेर १०० प्रतिशत गरिएको छ ।
शेयर धितो ऋण दिने सीमा बढाइएको छ । कोर क्यापिटलको २५ प्रतिशत दिन पाउने ब्यवस्थालाई परिमार्जन गरि ४० प्रतिशत पुर्याइएको छ । यसैगरी बैंकहरुलाई सहायक कम्परनी खोली शेयर ब्रोकरको काम गर्न खुला गरिएको छ ।
अन्तर बैंक कारोबारबाट प्राप्त सापटी रकमलाई सिसिडी रेसियो गणना गर्दा स्रोत परिचालनमा समावेश गर्न सकिने भएको छ ।