मर्जरमा गएका बीमा कम्पनीहरुले हकप्रद निष्काशन गर्न पाउने, कुन कुन कम्पनी मर्जरमा जाँदैछन्? |
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले पूँजी वृद्धिको लागि दिएको समय सकिन लागेको छ । प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई चुक्ता पूँजी बढाउन गत चैत १० गते निर्देशन दिएको थियो । त्यस अनुसार २०७९ चैत मसान्त भित्र जीवन बीमा कम्पनीहरुले न्युनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले न्युनतम २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नु पर्नेछ ।
प्राधिकरणको निर्देशन अनुसार बीमा कम्पनीहरुले पनि पूँजी बढाउने कामलाई तिब्रता पनि दिएका छन् । हालसम्म ११ वटा जीवन बीमा कम्पनी र १२ वटा निर्जीवन बीमा कम्पनीहरुले मर्जर सम्बन्धी सम्झौता गरेर पूँजी बढाउने तयारी गरेका हुन् ।
मर्जरपश्चातपनि प्राधिकरणले तोकिएको पूँजी पुर्याउन नसकिए बीमा कम्पनीहरुले हकप्रद निष्काशन गर्न पाउनेछन् । प्राधिकरणले मर्जरमा गएका तथा पूँजी पुर्याउन नसकेका कम्पनीहरुलाई हकप्रद निष्काशन गर्न दिने भएको हो ।
दुई वा दुई भन्दा बढी कम्पनीहरुबीच मर्जर सम्झौता भएर एकिकृत कारोबार थाल्दा पनि प्राधिकरणले तोकिएको पूँजी नपुगे प्राधिकरणले हकप्रद निष्काशन गर्न दिने प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले मेरो लगानीलाई जानकारी गराए ।
‘हामीले हकप्रद बिनै पूँजी बढाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएका थियौं । त्यस अनुसार धेरै बीमा कम्पनीहरुबीच मर्जर सम्बन्धी सम्झौता गरेका छन् । तर पनि प्राधिकरणले तोकिएको पूँजी नपुगे हकप्रद निष्काशन गर्न दिने तयारी गर्दैछौं ।’ उनले भने, ‘मर्जर पश्चात बन्ने नयाँ कम्पनीलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म हकप्रद निष्काशन गर्न दिनेछौं ।
प्राधिकरणले हकप्रदलाई रोक्दै बोनस र मर्जर तथा एक्वीजिसनबाट पूँजी बढाउन दबाव दिंदै आएको थियो । मर्जरपश्चात पनि केहि पूँजी नपुग्ने भएपछि प्राधिकरणले बीमा कम्पनीहरुलाई हकप्रद निष्काशन गर्न दिने भएको छ ।
कुन कुन कम्पनी मर्जरमा जाँदैछन्?
जीवन बीमा कम्पनीहरुमा साविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्सबीच मर्ज भएर सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु गरिसकेकाे छ । दुई कम्पनी मर्ज भएपश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।
त्यस अनुसार कम्पनीले १० प्रतिशत अर्थात ४६ करोड रुपैयाँ पूँजी थप्नुपर्ने देखिन्छ । कम्पनीले बोनस वा हकप्रद शेयर निष्काशन गरेर न्युनतम ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने तयारी गरेको छ ।
प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जरमा जाने सम्झौता गरेका छन् । मर्जर पश्चात पनि पूँजी नपुगे केही प्रतिशत हकप्रद शेयर निष्काशन गरेर प्राधिकरणले तोकेको पूँजी पुर्याउन सक्नेछ ।
यस्तै निर्जीवन बीमा कम्पनीहरुमा हालसम्म १२ वटा निर्जीवन बीमा कम्पनीहरुले मर्जरमा जाने सम्झौता गरेका छन् । त्यसमध्ये हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्सले एकीकृत कारोबार समेत थालिसकेका छन् ।
साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले मर्जर पश्चात हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट साउन १ गतेदेखि एकीकृत कारोबार गर्दै आइरहेको छ । यस्तै साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले पनि कात्तिक ७ गतेदेखि सानिमा जीआईसीको नामबाट एकीकृत कारोबार गर्दै आइरहेको छ । मर्जर पश्चात बनेको सानिमा जीआईसी कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले २५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ पूँजी थप्नु पर्ने देखिन्छ ।
पूँजी बढाउन मर्जर सम्बन्धी सम्झौता गरेका प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स, आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले भने एकीकृत कारोबार शुरु गर्न सकेका छैनन् ।
प्रभु र अजोड इन्स्योरेन्सबीचको मर्जर सम्झौता भने टुटेको छ । प्रभुसँग मर्जर टुटेसँगै अजोडले युनाइटेडसँग मर्जरमा जाने प्रारम्भिक सहमति गरेको छ भने प्रभुले अहिलेसम्म पार्टनर भेटेको छैन् ।
तोकिएको समयमा न्युनतम पूँजी कायम गर्न नसकिए बीमा कम्पनीहरुले बीमक गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका बमोजिम हुने गरी पूँजी पुर्याउन फाेर्सफुल मर्जरको तयारी समेत प्राधिकरणले गरेको छ ।