दुई कम्पनीको शेयरमूल्य समायोजन |
काठमाडौं । फागुन ४ गते बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेले उपकार लघुवित्त वित्तीय संस्था र अपि पावरको शेयरमूल्य समायोजन गरेको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन उपकार लघुवित्तको ६१.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने अपि पावरको ७.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात उपकार लघुवित्तको शेयरमूल्य २ हजार ३१० रुपैयाँ ३६ पैसा कामय भएको छ भने अपि पावरको २६६ रुपैयाँ ५ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार उपकार लघुवित्तको शेयर प्रतिकित्ता ३ हजार ७३७ रुपैयाँ र अपि पावरको २८६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गते बिहीबार चौथो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बैजनाथ १, गाभर भ्याली (सामुदायिक होमस्टे) बाँकेमा हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ६१.८५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ३.२५ प्रतिशत नगद लाभांश गरी कुल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
त्यसैगरी, अपि पावर कम्पनीले लिमिटेडले फागुन १४ गते बानेश्वर व्याक्वेट, थापागाँउमा बिहान ११ बजे १९ औं वार्षिक साधारण सभा बोलाएको छ।
सभाले लाभांश र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न तयारी गरेको छ। गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।
यस्तै सभाले उक्त बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजी ३ अर्ब १३ करोड रुपैयाँको १ शेयर बराबर ०.४० प्रतिशतका दरले हुन आउने १ अर्ब ६५ करोड ३४ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ।