राष्ट्र बैंकको सर्वेक्षणः ३ महिनापछि मूल्यबृद्धि १० प्रतिशत पुग्ने | २ हजार १० जना उत्तरदातामध्ये ८४.६% को मूल्य वृद्धि हुने अपेक्षा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणले आगामी ३ महिनापछि मूल्यबृद्धि १० प्रतिशत पुग्ने देखाएको छ। सर्वेक्षणमा एक वर्षपछि मूल्यबृद्धि १२ प्रतिशत पुग्ने अनुमान छ।
नेपाल राष्ट्र बैंकले,आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण गरी नतिजा सार्वजनिक गरेको छ । यस सर्वेक्षण २०७९ पौष २४ देखि पौष ३० सम्म ६० वटा बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको थियो । यो सर्वेक्षेण २ हजार १० जना उत्तरदाताहरुसँग गरिएको थियो।
सर्वेक्षेणमा ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी,९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज २०७९ को तुलनामा घटेको छ ।
खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू, तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज,२०७९ को तुलनामा बढेको छ । गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा केही घटेको केन्द्रिय बैंकले जनाएको छ।
खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध तथा घ्यू; पेय पद्घार्थ तथा सूर्ती र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूह, गैर–खाद्य तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको एक वर्षमा मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूका हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ।
तीन महिना पछि र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति २०७९ असोजको तुलनामा समान रहेको छ भने तीन महिना पछिको औसत र एक वर्ष पछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको छ ।