सबैको लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा |
काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।
कम्पनीले फागुन २६ गते छैठौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दिपुर ५, तनहुँमा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले अन्य उपयुक्त लघुवित्तसंग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले फागुन १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।