घरेलु तथा साना उद्योगको विकास : आजको अपरिहार्य आवश्यकता | आजदेखि १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला शुरू

नेपालको अधिकांश भूभाग र जनसङ्ख्या परम्परागत कृषि पेशामा निर्भर रहेको र उद्यम एवम् रोजगार पनि मूलतः त्यहाँ रहेको प्राकृतिक स्रोत र सम्पदामा आधारित छ । यद्यपि, लघु, घरेलु तथा साना उद्योगले अर्थतन्त्रको इञ्जिनको रूपमा काम गरी आर्थिक अवसर र वितरण प्रणालीलाई सन्तुलन कायम गर्दै आएको छ । तसर्थ, मुलुकको समग्र आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तार आजको अपरिहार्य आवश्यकता नै रहेको छ ।
मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा यस क्षेत्रको ठूलो योगदान रहे पनि यसको प्रवद्र्धनमा भने खासै चर्चा नदेखिएको सरोकारवाला बताउँछन् । नीतिगत तहबाटै यो क्षेत्र त्यति प्राथमिकतामा नपरेको उनीहरूले बताएका छन् । पछिल्लो समय मुलुक सङ्घीय संरचनाअनुसार अघि बढिरहँदा सरकारले यस्ता उद्योगलाई सोहीअनुरूप अघि बढाउन अत्यावश्यक देखिन्छ । सङ्घीय संरचनाअनुसार यस क्षेत्रसँग सम्बन्धित सेवा प्रवाह गर्ने कार्य स्थानीय निकायले गरिरहँदा त्यसलाई कसरी नियमन गर्ने भन्ने केन्द्र सरकारको हात रहनुपर्ने यस क्षेत्रका सरोकारवाला बताउँछन् । यसरी स्थानीय निकाय र प्रदेश सरकारबीच समन्वय गरी, प्रविधि प्रयोग कच्चा, पदार्थको उपलब्धतालगायत अन्य थुप्रै विषयलाई केन्द्र सरकारले नियाल्दै अघि बढ्नु अत्यावश्यक रहेकोमा उनीहरूले जोड दिएका छन् ।
घरेलु तथा साना उद्योगतर्फ नयाँ उद्यमीको आकर्षण बढाउन उनीहरूलाई आवश्यक उद्यमशीलता विकास, शीप प्रवद्र्धन एवम् उत्पादित वस्तु बजारीकरण गर्न समितिले निरन्तर काम गरिरहेको छ । तर, यसलाई अझ बढी प्रभावकारी बनाउन सरकारको उच्च निकायबाट कार्य अघि बढाउन जरुरी देखिएको छ । हाल ३ लाख उद्योग दर्ता भए पनि मात्र ७५ प्रतिशत सञ्चालनमा रहेका छन् भने बाँकी उद्योग बन्द अवस्थामा छन् । यसरी यस्ता उद्योगहरूको स–साना आवश्यकतालाई नै सरकारले सम्बोधन गर्दै उद्योग सञ्चालनमा ल्याउनु आजको आवश्यकता हो ।
आजदेखि १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला शुरू
‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौें’ र ‘मिहनेत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने मूल नाराका साथ ‘१६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९’ मंगलवारदेखि शुरू भएको छ । देशमा आर्थिक विकासका लागि औद्योगिक वातावरण सृजना गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, विकास तथा विस्तारमा जोड दिने उद्देश्यसहित उक्त प्रदर्शनीको आयोजना गरिएको घरेलु तथा साना उद्योग विकास समितिको भनाइ छ ।
५ दिनसम्म चल्ने यस प्रदर्शनीमा प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ । प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव डम्बर प्रसाद रेग्मीले बताए ।
प्रदर्शनीमा राखिएका वस्तु
- बाँस तथा अल्लोका वस्तुहरू
- मिथिला आर्ट, छ्वाली आर्ट, इलामको चिया र ललिपप
- स्याउमा आधारित उत्पादन, प्राकृतिक रेशाबाट उत्पादित वस्तु तथा रेशम धागोका उत्पादन
- छाला तथा सावरका सामान, करुवा, खुकुरी, हस्तकलाका सामग्री
- उपत्यकाको हस्तकला, टोखाको चाकु
- तेह्रथुमको पूर्वेली ढाका र पाल्पाली ढाका
प्रविधिको प्रदर्शनी
- लघु, घरेलु तथा साना उद्योगका लागि उपयुक्त किसिमका परम्परागत तथा आधुनिक प्रविधि
- कृषि उद्यम व्यवसायहरू
- हाते तानबाट ढाका कपडा बुन्ने
- स्वीटर बुन्ने प्रविधि
- चिउरा कुट्ने प्रविधि
- स्क्रीन प्रिण्ट, हाते कागज, माटाका भाँडा, इम्ब्रोइडरीसँग सम्बन्धित प्रविधि
- रेशम तथा फेल्ट उत्पादनको प्रविधि