यसरी शुरू भयो प्रणयदिवस |
हरेक अङ्गे्रजी वर्ष फेब्रुअरी १४ तारिखमा संसारभरका मायालु जोडीले एकअर्कालाई फूल, चक्लेट र विभिन्न उपहार दिएर प्रणयदिवस मनाउँछन् । प्रेमीप्रेमिकाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन हरेक मायालु जोडीहरू उपहारको साटासाट गर्दै रमाइलो गर्छन् । अन्य दिनको तुलनामा यस दिन पार्क र रेष्टुरेण्ट प्रेमीप्रेमिकाका जोडीले भरिभराउ देखिन्छन् । यूरोपेली मुलुकमा यस दिनलाई विशेष महत्वका साथ मनाइन्छ । त्यस्तै, नेपालमा पनि केही वर्षयता यो दिन प्रेमीप्रेमिकाका लागि माया साट्ने विशेष दिन बन्न थालेको छ ।
फेब्रुअरी १४ को महत्व त्यस दिनदेखि शुरू भएको हो, जुन दिन रोममा एक सन्त भ्यालेण्टाइन नामका व्यक्तिलाई मृत्युदण्ड दिइएको थियो । ईसापूर्व २ सय ७० भन्दाअघि रोमका एक राजा क्लाउडियस द्वितीयले आफ्ना देशका सैनिकले विवाह गर्न नपाउने निर्णय गरेका थिए । वैवाहिक जीवनमा बाँधिएका पुरुष कहिल्यै पनि देशका योग्य सिपाही हुन सक्दैनन् भन्ने उनको सोचाइ थियो । राजाको यस निर्णयप्रति रोमका सबै नागरिक आश्चर्यचकित थिए । तर, पनि कसैले राजाको निर्णयविरुद्ध आवाज उठाउन सकेनन् । सबै सैनिकले वैवाहिक जीवनको सपनासम्म पनि देख्न छाडिसकेका थिए ।
त्यसैबेला एक भ्यालेण्टाइन नाम गरेका सन्तले गोप्य तरीकाले राजाको निर्णयको विरोध गरे । उनले केही सैनिकको गोप्य तरीकाले बिहे गराइदिए । राजाले यो कुरा थाहा पाएपछि तत्काल सन्त भ्यालेण्टाइनलाई बन्दी बनाए । जेलमा बन्दीको जीवन बिताउँदा पनि उनले राजाको निर्णयको विरोध गरिरहे । बन्दी अवस्थामा रहँदा सन्त भ्यालेण्टाइन र जेलरका छोरीबीचको गहिरो मित्रता प्रेममा परिणत हुन थाल्यो । उनीहरू एकअर्कालाई प्रेम गर्न थाले । आफ्नो माया प्रेमिकालाई अभिव्यक्त गर्न नपाउँदै भ्यालेण्टाइनलाई फेब्रुअरी १४ का दिन मृत्युदण्ड दिइयो ।
मर्नुभन्दा पहिले उनले जेलरसँग एउटा कागज र कलम मागे र त्यसमा उनले ‘तिम्रो भ्यालेण्टाइन बाट’ अर्थात् ‘फ्रम योर भ्यालेण्टाइन’ भनी लेखे । त्यही शब्द आजकै दिन हरेक प्रेमीप्रेमिकाले एकअर्कालाई भन्दै उपहार दिने गर्छन् । भ्यालेण्टाइनलाई मृत्युदण्ड दिइए पनि उनले लेखेको अन्तिम वाक्य आजसम्म पनि जीवित नै छ । यही समयदेखि प्रेममा लगाइएको प्रतिबन्धको फुकुवा र दमनको विरोधस्वरूप फेब्रुअरी १४ लाई प्रणयदिवसका रूपमा मनाउन थालिएको हो ।