विद्युत् प्राधिकरणको नयाँ एप्लिकेशन सञ्चालनमा | अब विद्युत् किन काटिँदै छ, कतिखेर विद्युत् काटिँदैछ भन्ने जानकारी मोबाइलमै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणसम्बन्धी सम्पूर्ण कुराको जानकारी दिने नयाँ खालको मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले नेपाल इलेक्ट्रिसिटी अथोरेटी (एनईए) नामक मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको हो ।
उक्त एप्लिकेशनको शुरूवातसँगै विद्युत् किन कटौती भयो, कतिखेर आउँछ, कतिखेर विद्युत् कुन क्षेत्रमा किन काटिँदै छजस्ता कुराको जानकारी लिन नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गर्ने सूचनाको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हाल गुगल प्ले स्टोरमा मात्र उपलब्ध रहेको उक्त एप्लिकेशन ग्राहकले आफ्नो मोबाइल फोनमा डाउनलोड गर्न सक्नेछन् । एप्लिकेशनमा देशैभरका प्राधिकरणका कार्यालयको विवरणसमेत समावेश गरिएको छ ।
एप्लिकेशनमा युजरनेममा ग्राहकले आफ्नो नाम र जन्म मिति उल्लेख गर्नुपर्ने हुन्छ । प्राधिकरणका क्षेत्रीय कार्यालय, जिल्ला कार्यालय र वितरण केन्द्रसमेत उपलब्ध रहेको यस एप्लिकेशनमा नो लाइट सेवाका नम्बर र उपभोक्ताले आफ्नो बिलका बारेमा समेत जानकारी लिन सक्नेछन् ।
प्राधिकरणका वितरण केन्द्रले कुन स्थानमा के कारणले विद्युत् कटौती हुँदैछ, कति समयमा विद्युत् आउँछ भन्ने कुराको जानकारीसमेत सोही एप्लिकेशनले दिनेछ । यस्तै ग्राहकको जन्म दिनको अवसरमा समेत प्राधिकरणले सूचना दिनेछ । एप्लिकेशनमार्फत नै हाल नेपाल इन्भेस्टमेन्ट बैंक र इ–सेवामार्फत विद्युत् महसुल भुक्तानी गर्न सकिनेछ । कुनै गुनासो वा सूचना भए पनि एप्लिकेशनबाटै जानकारी गराउन सकिने यो एप्लिकेशनमा प्राधिकरणका प्रकाशन तथा रोजगारीको सूचनासमेत उपलब्ध छ ।
उपभोक्तालाई बढीभन्दा बढी सहज र सरल रूपमा सेवा दिने लक्ष्यका साथ मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको र त्यसमा आवश्यक अन्य सेवा पनि थप्दै लैजाने प्राधिकरणको योजना छ । साथै, प्राधिकरणको कुन स्थानको ग्राहकले कति पटक गुनासो गरे, कति पटक कुन स्थानको लाइन काटियो र के कसरी समाधान गरियो भन्ने विषयको समेत यथेष्ट जानकारी पाइने भएकाले सम्बन्धित कार्यालयको कार्यक्षमता तथा समस्या समाधानमा चालिएको कदमका बारेमा समेत सहजै सूचना प्राप्त हुनेछ ।
कार्यकारी निर्देशक घिसिङले ग्राहकलाई सही र समयै जानकारी दिने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको उक्त एप्लिकेशनमा थप व्यवस्थित गरेर लैजाने बताए ।