प्रणयदिवस : मायाप्रेम र सद्भाव साटासाट गर्ने दिन, प्रेमी–प्रेमिकालाई के उपहार दिने? |
‘भ्यालेण्टाइन्स डे’अथवा ‘प्रणयदिवस’ मायाप्रेम र सद्भाव साटासाट गर्ने दिन । यस दिन एकअर्काको सम्बन्धलाई अझ प्रगाढ बनाउन हरेक मायालु जोडीहरू आफ्ना प्रेमीपे्रमिकाबीच उपहार साटासाट र रमाइलो गर्नमा व्यस्त देखिन्छन् । त्यसो त आफ्नो जोडीलाई ‘भ्यालेण्टाइन्स डे’मा के उपहार दिने केही दिनअघिदेखि नै द्विविधाको विषय बन्ने कतिपय जोडीहरू बताउँछन् ।
रोमनबाट शुरू भएको ‘भ्यालेण्टाइन्स डे’ मनाउने प्रचलन अहिले नेपालमा पनि उत्तिकै महत्वका साथ हेरिन थालिएको छ । यो दिवस अव्यक्त प्रेम व्यक्त गर्ने र व्यक्त पे्रमलाई नयाँ रूप दिने माध्यम भएको छ । नेपाली समाजमा किशोरकिशोरीबाट फैलिँदै गएको ‘भ्यालेण्टाइन्स डे’ मनाउन उमेरको हदबन्दी हुन छाडेको छ । अहिले कतिपय पार्क, रेष्टुरेण्ट वा कुनै एकान्तस्थलमा पाका उमेरका मानिससमेत प्रणयदिवसमा रमाइरहेको देख्न सकिन्छ । त्यसैले पनि आज शहर प्रेममय बन्दै छ । धेरैलाई आज फुर्सद छैन । कतिपय कामकाजी मानिसले पनि आज सुटुक्क समय निकालेका हुनसक्छन् । जेहोस्, शहरमा केही दिनयता प्रणयदिवसको चर्चासँगै चहलपहल पनि निकै बढेको छ । प्रणयदिवस कतिपयका लागि प्रेम अभिव्यक्त गर्ने उपयुक्त समय भएको छ भने कसैका लागि अझ मलजल गर्ने माध्यम बनेको छ ।
वास्तवमा, प्रणयदिवस प्रेममाथि लगाइएको बन्देज फुकुवाको हर्षोल्लास र दमनको प्रतिकारस्वरूप मनाइने दिवस हो । यसको शुरुआत ईशापूर्व २ सय ७० देखि भएको बताइन्छ । सेण्ट भ्यालेण्टाइनलाई रोमनसम्राट क्लाउडियस द्वितीयले मृत्युदण्ड दिएको घटनालाई स्मरण गर्दैै यो दिवस मनाउन थालिएको हो । क्लाउडियसले प्रेम र विवाहले सेनालाई कमजोर बनाउने भन्दै सेनालाई प्रेम र विवाह गर्न प्रतिबन्ध लगाएका थिए । उनको यो प्रतिबन्धविरुद्ध विद्रोह गरेवापत फेब्रुअरी १४मा सेण्ट भ्यालेण्टाइनलाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्डभन्दा अगाडि भ्यालेण्टाइनले आफ्नी प्रेमिकाका लागि ‘फ्रम योर भ्यालेण्टाइन’ अर्थात् तिम्रो भ्यालेण्टाइनको तर्फबाट भन्ने वाक्य लेखेर छाडेका थिए । आज पनि युवाहरू आप्mना प्रेमीप्रेमिकालाई तिम्रो भ्यालेण्टाइनको तर्फबाट भन्दै उपहारसँगै माया बाँड्छन् ।
प्रणयदिवसको रमाइलोसँगै बजारमा मानिसहरूको उपहार सामग्रीको किनमेल बढेको छ । अहिले प्रेमीप्रेमिकालाई दिने उपहारदेखि फूल छनोट एउटा कठिन विषय बन्न थालेको छ । धेरैमा आफूलाई मन परेकालाई सकेसम्म राम्रो उपहार दिऊँ भन्ने हुन्छ । सोहीअनुसार बजारमा उपहारका पसल वा पुष्पव्यवसाय केन्द्रहरू अहिले थुप्रै छनोटका सामग्रीसहित झकिझकाउ छन् । त्यसो त व्यसायीहरू केही दिन अघिदेखि नै तयारीमा व्यस्त छन् ।
नेपालमा प्रणयदिवसका अवसरमा करीब ३५ देखि ४० लाख रुपैयाँसम्मको गुलाबको कारोबार हुने गरेको व्यवसायीहरु बताउँछन् । यसबेला गुलाबका फूलको कारोबार सबैभन्दा बढी र अन्य समयभन्दा केही महँगो हुने गर्छ । ‘भ्यालेण्टाइन्स डे’ का अवसरमा नेपालमै उत्पादन भएका गुलाबले माग धान्न नसक्ने भएकाले भारतबाट समेत आयात हुने गरेको छ । यस अवसरमा प्रयोग हुने फूलमा ८० प्रतिशत नेपालमै उत्पादन भएको र २० प्रतिशत भारतबाट आयात हुने गरेको छ ।
यस्ता उपहार दिनु राम्रो
यो पर्व वा दिवसमा गुलाफको फूल अफ्नो प्रेमी प्रेमिका लाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ। हिजोआज भ्यालेन्टाइन्स डे नजिकिएसँगै गिफ्ट र फूल पसलमा उपहार किन्नेको भीड लाग्ने गरेको छ । साथै त्यस्ता पसल पनि भ्यालेन्टाइन्स डेलाई लक्षित गरेर सजिन थालेका छन् । यही भ्यालेन्टाइन्स डेलाई लक्षित गरेर लाखौँ मूल्यबाराबरको गुलाफको आयात हुने गरेको छ ।
भ्यालेन्टाइन्से डेको दिन प्रेमीप्रेमिकाले माया साटासाट गर्न आफ्नो रोजाइअनुसारको गिफ्ट दिने चलन छ । प्रेमीप्रेमिकाले कस्ता उपहार आदानप्रदान गर्छन् र त्यो गर्नुको कारण के हो त जानौं ।
गुलाफ
भ्यालेन्टाइन्स डेको दिन सबैले आफ्नो प्रेमीप्रेमिका वा आफूलाई मनपर्ने व्यक्तिलाई रातो गुलाफको फूल दिने चलन छ । रातो गुलाफको फूलले सम्बन्धमा निखारता थप्ने विश्वास छ । साथीको हिसाबले दिनुपर्दा पहेँलो गुलाफको फूल दिइन्छ । रातो रङको गुलाफको फूल दिइएको व्यक्तिले सहर्ष स्वीकार गर्यो भने ऊ माया गास्न इच्छुक छ भन्ने बुझ्नुपर्छ ।
टेडी बियर
भ्यालेन्टाइन्स डेको दिन प्रेमीप्रेमिकाले एकआपसमा टेडी आदानप्रदान गर्ने गर्छन् । टेडी एकदमै कोमल हुने हुँदा आफ्नो सम्बन्धलाई कोमल र मजबुत बनाउनका लागि प्रेम जोडीले प्रेम प्रतीकका रूपमा टेडी बियर आदानप्रदान गर्ने गर्छन् ।
ब्रासलेट
ब्रासलेट भ्यालेन्टाइन्स डेका लागि उपयुक्त उपहार हो । विभिन्न धातुबाट तयार हुने ब्रासलेट आफ्नो क्षमताअनुसार खरिद गर्न सकिन्छ । प्रेमीप्रेमिकालाई ब्रासलेट दिँदा यसको आकार र डिजाइनमा पनि ध्यान दिनु त्यत्तिकै जरुरी रहन्छ । ब्रासलेट उपहार दिनाले प्रेमलाई जीवन्त एवं स्मरणीय राख्न मद्दत गर्छ ।
चकलेट
गुलाफ मात्र नभएर प्रेमीप्रेमिकाले चकलेट पनि उपहार स्वरूप आदानप्रदान गर्ने गर्छन् । यसरी चकलेट दिँदा माया बढ्ने र सम्बन्धमा मिठास थपिन्छ भन्ने विश्वास युवायुवतीमाझ रहँदै आएको छ ।
ग्याजेट्स
भ्यालेन्टाइन्स डेमा उपहारस्वरूप ग्याजेट पनि दिन सकिन्छ । ग्याजेट दिँदा प्रेमीप्रेमीकालाई केको आवश्यकता परेको छ त्यसको महसुस गरेर दिँदा राम्रो हुन्छ । जस्तै, मोबाइल, ल्यापटप, आइफोन, आइप्याड दिन सकिन्छ ।
फेसनेबल पहिरन
भ्यालेन्टाइन्स डेमा आफ्नो प्रेमीप्रेमिकालाई फेसनेबल पहिरन दिने चलन पनि छ । यसरी बजारमा आएका फेसनेबल पहिरन प्रेमीप्रेमिकालाई दिनु उत्तम मानिन्छ । यसरी फेसनेबल पहिरन दिँदा मनमा उत्साह एवं प्रेममा प्रगाढता ल्याउने विश्वास छ ।
पुस्तक
हिजोआज भ्यालेन्टाइन्स डेमा पुस्तक दिने चलन बढ्दै गएको छ । पुस्तक दिँदा प्रेमीप्रेमिकाको रुचि बुझ्न जरुरी छ । पुस्तक दिँदा अश्लील प्रकृतिका पुस्तक भने दिनुहुँदैन । यसले प्रेम सम्बन्धमा दरार ल्याउन सक्छ ।
यसैगरी मुटुको आकार भएको घडी, औँठी, मग, फोटोफ्रेम पनि भ्यालेन्टाइन्स डेका लागि उपयुक्त उपहार हुन सक्छ । यसरी आफ्नो रोजाइअनुसारको उपहार प्रेमीप्रेमिकाले एकआपसमा आदानप्रदान गर्दा प्रेमको गाँठो कसिँदै जान्छ ।