फागुन ५ गते उद्योगी व्यवसायीहरुले बैंक विरुद्ध संयुक्त सडक आन्दोलन गर्ने |
काठमाडौँ । फागुन ५ गते उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु बिरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् । सघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरुका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु बिरुद्ध वृहत संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको बताए ।
व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदर बिरुद्ध आन्दोलन गर्ने बाध्य भएको बताएका छन् । सयुक्त मुल संघर्ष समितिका संयोजक कटुवालले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उद्योगी व्यवसायीहरुमा रहेको सिण्डिकेटका अन्त्य र बैंकको ज्यादती बिरुद्ध सडक आन्दोलन घोषणा गर्न लागेको बताए ।
समितिले लामो समयदेखि उद्योगी व्यवसायीहरुले उठाउँदै आएका माग सम्बोधन गर्न सरकार उदासिन देखिएकाले सडक आन्दोलनमार्फत आफ्ना मागहरु राख्न बाध्य हुनुपरेको जनाएको छ । संयुक्त मुल संघर्ष समितिका संयोजक कटुवालले उद्योगी व्यवसायीहरुको मागको सुनुवाई सरकारले नगरेकाले व्यवसायीहरुले पुनः सडक आन्दोलनमा जान बाध्य भएको बताए ।
संघर्ष समितिका संयोजक कटुवालले उद्योगी व्यवसायीहरुको लागि सरकार,राजनीतिक दल वा दलका नेताहरु कोही पनि जिम्मेवार नभएकाले ९ वटा महासंघ र ३८ वटा संघहरुले संयुक्त सडक आन्दोलन गर्न बाध्य भएको उल्लेख गरे । उनले पछिल्लो कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरुका कुनैपनि माग सम्बोधन नगरेको आरोप लगाए ।
संयोजक कटुवालले उद्योग र व्यापारमा रहेको सिण्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरुको पहुँच सहितको बैंकहरुको ज्यादतीबिरुद्ध थप आन्दोलनका घोषणा गरिएको बताए । उनले फागुन ५ गते वृहत र्यालीसहित सडक आन्दोलनमा सम्पूर्ण उद्योगी व्यापारीहरु उक्रने बताए । संयोजक कटुवालले सम्पूर्ण मुलुक भरमा रहेका उद्योगी,व्यापारी व्यवसायी सम्बन्धित सबै ऋणीहरुलाई आन्दोलनमा सहभागी हुन आग्रह पनि गरे ।
उनले बैंकहरुले देखाएको दादागिरीको अन्त्य र निश्चित उद्योगी व्यवसायीहरुको सिण्डिकेटको बिरुद्ध एक पटक एक भएर बाहिर आएको स्पष्ट पारे । संयोजक कटुवालले सडक आन्दोलन शान्तिपूर्ण हुने बताए । उनले फागुन ५ गतेको सडक आन्दोलन कुनै सत्ता प्राप्ति वा नेता बन्नको लागि नभई व्यवसायी र व्यापारीहरुको हीतको लागि गर्न लागेको बताए ।
संयोजक कटुवालले फागुन ५ गतेपछि पनि सरकारले व्यवसायीहरुको माग सम्बोधन नगरेर थप आन्दोलनका कार्यक्रमहरु गर्दै जाने बताए । उनले फागुन ५ गतेपछि पहिलो चरणमा सम्पूर्ण उद्योगी व्यवसायीहरुले बैंकिङ कारोबार बन्द गराउने बताए । संयोजक कटुवालले त्यसपछि पनि राज्यले उद्योगी व्यवसायीहरुको माग सम्बोधन नगरे सबै व्यवसायको तालाचाँवी सरकारलाई बुझाउने चेतावनी दिए ।
संयोजक कटुवालले सरकारलाई चाबी बुझाएरपछि विदश काम गर्न जान भिसा माग्ने बताए । उनले नेपालका उद्योग व्यापार गरेर गरिखाने अवस्था नभएको भन्दै बैंकहरुले सबैलाई सुकुम्वासी बनाउने अवस्था आएको बताए ।
संयुक्त आन्दोलनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, ग्रिल तथा स्टिल व्यवसायी महासंघ,कपडा तथा सिलाई व्यवसायी महासंघ, होटल व्यवसायी महासंघ, मोबाइल व्यवसायी महासंघ र सार्वजनिक यातायात केन्द्रिय महासंघले साथ दिएको छ भने महासंघमा आवद्ध ३८ वटा संघहरुले आन्दोलनमा सहभागिता जनाउने भएका छन् ।