घलेम्दी हाइड्रोको १५ लाख कित्ता आईपीओ पुस १९ गतेदेखि खुल्ला |
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १५ लाख ३३ हजार ७ सय ७० कित्ता प्राथमिक शेयर पुस १९ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो ।
कम्पनीले सर्वसाधाणका लागि २० प्रतिशत अर्थात् ११ लाख कित्ता छुट्याएकोमा प्रभावित क्षेत्रमा विक्री नभएको ४ लाख ५५ हजार ७ सय ७० कित्तासहित १५ लाख ३३ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो । कम्पनीले २२ हजार कित्ता कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
कम्पनीले रेटिङमा ‘इक्रा एनपी आईपीओ ग्रेड ५’ प्राप्त गरेको छ । यस्तै रेटिङका कारणले कम्पनीको प्राथमिक शेयर प्रभावित क्षेत्रमा विक्री हुन सकेको थिएन । यस कम्पनीका प्राथमिक शेयरधनीले प्राथमिक पूँजी फिर्ता पाउन ९ वर्ष कुर्नुपर्ने हुन्छ । खराब वित्तीय अवस्थाका कारणले कम्पनीको क्रेडिट रेटिङ कमजोर आएको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ ।
चार मेगावाट क्षमताको उक्त आयोजना निर्माणको जम्मा लागत एक अर्ब १५ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड रुपैयाँ पर्न आउँछ । प्राथमिक शेयर निष्कासन सकिएसँगै संस्थापक शेयर पूँजी ३० प्रतिशत अर्थात् ३८ करोड ५० लाख रुपैयाँ पुग्नेछ । त्यस्तै प्रभावित क्षेत्रका बासिन्दाको हिस्सा १.२८ प्रतिशत अर्थात् ९४ लाख ५३ हजार रुपैयाँ र सर्वसाधारणतर्फ २८.७२ प्रतिशत अर्थात् १५ करोड ५५ लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीले प्राथमिक शेयर छिटोमा पुस २३ गतेसम्म र पहिलो चरणमा विक्री नभएमा ढिलोमा माघ १८ गतेसम्म निष्कासन तथा विक्री खुला गर्ने धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक भिबोर क्यापिटलले बताएको छ । कम्पनीका अनुसार आईपीओ आवदेनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।