नेपाल टेलिकमको खुद नाफा ९.१६% ले बढ्यो |
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमले गत वर्षको सोही अवधिको भन्दा ९.१६% ले खुद नाफा वृद्धि गरेको हो ।
गत वर्ष यसले ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो । टेलिकमको सेवा व्यापारबाट आम्दानी घटेपनि अन्य आम्दानी बढाउन सफल भएपछि खुद नाफामा सुधार भएको देखिन्छ ।
गत वर्ष टेलिकमले सेवा व्यापारबाट १९ अर्ब २० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेकामा यसपटक घटेर १८ अर्ब ७ करोड ७३ लाख रुपैयाँमा झरेको छ । यता, अन्य आम्दानी भने २ अर्ब ७८ करोड १९ लाख रुपैयाँबाट बढेर ४ अर्ब २ करोड ३७ लाख रुपैयाँ पुगेको छ । जसका कारण खुद नाफामा सुधार भएको हो । नेपाल टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७४ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ जम्मा छ ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि ४३ रुपैयाँ ८६ पैसाबाट बढेर ४७ रुपैयाँ २८ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ ५१२ रुपैयाँ ९२ पैसा छ ।