वाणिज्य बैंकलाई राष्ट्र बैंकले दियो नयाँ सुविधा | भारतीय वित्तीय संस्थाबाट बिनाधितो १ प्रतिशत ब्याजदरमा ऋण ल्याउन अनुमति

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई बिनाधितो १ प्रतिशत व्याजमा भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले हिजो मंगलवार एक सूचना जारी गर्दै कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको जानकारी दिएको हो ।
केन्द्रीय बैंकले नवीकरणीय ऊर्जा, पर्यटन, कृषि क्षेत्र र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्नका लागि भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको बताएको छ ।
त्यसरी लिइने कर्जामा ऋणदाताले लगाउने अन्य शुल्कसमेत गरी अधिकतम एक प्रतिशतभन्दा बढी ब्याजदर हुन नहुने गरी तय भएको हुनुपर्ने र ब्याजदरबाहेक अन्य कुनै शुल्क तथा कमिशन दिन नपाइने व्यवस्थासमेत राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकका अनुसार भारतीय मुद्रामा ऋण लिँदा अन्य परिवत्र्य विदेशी मुद्रामा ऋण लिएको भए सोसमेत गरी कूल आफ्नो प्राथमिक पूँजीको ५० प्रतिशतको सीमाभित्र रहनुपर्नेछ । यस्तो कर्जाको भुक्तानी अवधि भने न्यूनतम १ वर्षदेखि अधिकतम ५ वर्षको हुने उल्लेख गरिएको छ । तर, राष्ट्र बैंकबाट स्वीकृति लिएर कर्जाको नवीकरणसमेत गर्न सकिने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूका लागि २०७४ साल चैत २० र गतकात्तिक २० मा गरेका दुवै व्यवस्था खारेज गर्दै नयाँ सुविधा प्रदान गरेको हो । तर, यस्तो ऋण लिने प्रयोजनका लागि कुनै किसिमको धितो, जमानत, बैंक ग्यारेन्टी भने दिन पाइने छैन । ऋण लिएपछि सोको जानकारी अनिवार्य आफूलाई दिनुपर्ने राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले तोकेबमोजिमको पूँजी कोष कायम गरेका बैंकले त्यस्तो ऋण लिन सञ्चालक समितिबाट निर्णय भएको भने हुनुपर्ने व्यवस्था गरिएको छ ।
