मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक (पूर्णपाठ) |
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार बिहानै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसी अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो ।
यद्यपि, अनलाइनमार्फत सार्वजनिक गरिएको अर्धवार्षिक समीक्षालाई आजै ११ः४५ बजे भर्चुअल माध्यमबाटसार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ ।
राष्ट्र बैंकका निर्देशक तथा प्रवक्ता डा.गुणाकर भट्टले सार्वजनिक गर्ने मौद्रिक नीतिको समीक्षाका लागि सञ्चार माध्यम एवम् पत्रकारहरूका लागि जुम आइडी र पासवर्ड उपलब्ध गराइएको छ । गत सोमबार मात्र राष्ट्र बैंकले अर्धवार्षिक वित्तीय विवरण सार्वजनिक गरेको थियो । वित्तीय रिपोर्ट सार्वजनिक भएलगत्तै केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा समेत गरेको हो ।
मौद्रिक नीतिले के–के गर्यो ?
मौद्रिक नीतिको समीक्षाले विद्यमान बैंक ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई यथावत् राखेको छ । अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र स्थायी तरलता सुविधा सम्बन्धी व्यवस्थालाई यथावत् राखिएको बैंकले जनाएको छ । यद्यपि, बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा उपलब्ध गराउँदै आएको तरलता सुविधा अन्तर्गत ओभर नाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा झार्ने बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिमा लिइएका लक्ष्य तथा प्रक्षेपणहरूलाई यथावत् राखिएको समेत बैंकले जनाएको छ । ब्याजदर करिडोर प्रभावकारी हुने र भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने गरी तरलता व्यवस्थापन गरिने बैंकले जनाएको छ ।