बरुण हाइड्रोपावरको नाफा १९.०६% ले घट्यो |
काठमाडौँ । बरण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेपनि खुद नाफा भने घटेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ५ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४.६१ प्रतिशत बढेको छ।
विद्युत बिक्री आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने समीक्षा अवधिमा १९.०७ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ६५ लाख रुपैयाँमात्र नाफा कमाउन सफल भएको छ।
कम्पनीको प्रशासनिक खर्च २५० प्रतिशत बढेसँगै वित्तीय खर्च तथा ह्रासकट्टी खर्च बढेका कारण कम्पनीको नाफा घट्न पुगेको हो।
पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ २६ पैसा र पिई रेशिया ४४.४० गुणा रहेको छ। ५३ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडामा ७ करोड १० लाख रुपैयाँ सञ्चित छ।