डिस होमले इन्टरनेट सेवा प्रदान गर्ने |

काठमाडौं । नेपालको एकमात्र स्याटेलाइट प्रविधिमा आधारित डीटीएच, डिस होम नेपाल कम्पनीले इन्टरनेट सेवा पनि प्रदान गर्ने तयारी गरेको छ । डीटीएच टेलिभिजन च्यानल हेर्न सजिलो बनाउने आधुनिक प्रविधियुक्त सेवा हो । यसले टेलिभिजन ‘सिग्नल’ लाई नागरिकको घरघरमा रहेका टेलिभिजन सेटसम्म सफा र राम्रोसँग हेर्न मिल्ने गरी सेवा प्रदान गर्दछ ।
पैसा तिरेर सेवा लिन सकिने डिस होम नेपालले नेपालको ‘पे टिभी’ उद्योगका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नौ वर्षदेखि नेपालमा सेवा दिइरहेको छ । उक्त कम्पनीले ललितपुरको भैँसेपाटीस्थित छ्यासीकोटमा डिस मिडिया नेटवर्क लिमिटेडका रुपमा सेवा प्रदान गर्न लागेकोे छ ।
नेपालको सूचना प्रणाली हाल अधिकांश पुरानै प्रविधिमा आधारित रहेकाले यस प्रणालीलाई डिजिटल स्वरुपमा विकास गर्न यसमार्फत ठूलो टेवा पुग्ने भन्दै उनले डिजिटल सेवाका लागि देशभर यस डिस होमको सञ्जाल पुगेको र त्यसलाई थप प्रभावकारी बनाउँदै लगिने कम्पनीका अध्यक्ष हेमराज ढकालले बताए ।
सो सेवाले सन् २००९ मा नेपाल सरकारबाट स्वीकृति लिई व्यापारिकरुपमा विक्री वितरणको अनुमति पाएको थियो । यस टिभीले हाल नेपालमा टिभी हेरिने घरमध्ये २५ प्रतिशत घरसम्म पहुँच पु्रयाएको छ । उक्त कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले हालसम्म सो कम्पनीले करिब १५ लाख सेट–टप बक्स विक्री गरिसकेको जानकारी दिए ।
कम्पनीले भैँसेपाटीको छ्यासीकोटमा स्याटेलाइट रिसिभर राखेको छ । सोही स्थानमा राखिएको ‘अर्थ स्टेन’ बाट सेवा देशभर १७० ओटा टेलिभिजन च्यानलको सेवा उपलब्ध गराउने गरेको छ ।
प्रबन्ध निर्देशक आचार्यले आगामी वर्षसम्ममा २४० टेलिभिजन च्यानलको सेवा प्रदान गर्ने तयारी गरिरहेको जानकारी दिए । सञ्चालनमा आएयता चार अर्ब १० करोड ९१ लाख रुपैयाँ राजस्व तिरेको छ ।