नेपाली सफ्टवेयर लाई सरकार तथा कम्पनीहरुले पहिलो प्राथमिकतामा राख्नु पर्छ |
उमेशकुमार रघुवंशी
प्रमुख कार्यकारी अधिकृत,इन्फोडेभलपर्स प्रालि
विगत २० वर्षदेखि सफ्टवेयर निर्माण गरेर सेवा दिदैं आइरहेको इन्फोडेभलपर्स प्रालि नेपालको प्रमुख आईटी कम्पनी हो । कम्पनीले हालसालै नेपालको पहिलो बैंकिङ सफ्टवेयर पुमोरी मर्ज गरेको छ । नेपालको सम्पूर्ण फाइनान्सियल सेक्टरमा यसले आफ्नो सेवा दिन सक्षम भइसकेको छ । नेपालमा सफ्टवेयर बनाएर अन्तर्राट्रिय बजारसम्म पुर्याउने इन्फोडेभलपर्सको मेनिफेस्टो हो । नेपाली सफ्टवेयर पनि सक्षम छन्, नेपाली कम्पनी पनि सक्षम छन् भन्ने सन्देश आमजनतालाई दिन कम्पनीले इन्फोटेकसँग सहर्काय गरेको छ । नेपालमा सूचना प्रविधिको विकासलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने सन्दर्भमा आर्थिक पाटीका लागि मदन लामिछानेले इन्फोडेभलपर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार रघुवंशीसँग गरेको कुराकानीः
इन्फोडेभलपर्सले नेपालमा सफ्टवेयरको विकासका लागि के कस्तो कार्य गर्दै आइरहेको छ ?
इन्फोडेभलपर्स प्रालि नेपालको प्रमुख आईटी कम्पनी हो । यो कम्पनीले नेपालमै बसेर नेपालकै काम गरेर पनि सफ्टवेयरको क्षेत्रमा राम्रो काम गर्न सकिन्छ भन्ने सिद्घ गरेको छ । कम्पनीले सहकारी, माइक्रोफइनान्सलगायतका क्षेत्रमा सफ्टवेयर निर्माण गरेर दिदैं आइरहेको छ । हामीले हालसालै मात्रै नेपालको पहिलो बैंकिङ सफ्टवेयर पुमोरी मर्ज गरेका छौ । नेपालको सम्पूर्ण फाइनान्सियल सेक्टरमा यसले आफ्नो सेवा दिन सक्षम भइसकेको छ । साथै यो कम्पनी नेपाल सरकारको प्रमुख आईसीटी सर्भिस प्रोभाइडर कम्पनी हो । हामीले नेपाल सरकारका ठुला ठुला आईटी प्रोजेक्टहरु गरेका छौ । नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गतका जति पनि प्रोजेक्टहरु छन्, धेरै प्रोजेक्टहरुमा इन्फोडेभलपर्सले सहभागिता जनाएको छ । यसको कर्पोरेट अफिस सानेपामा अवस्थित छ ।
तपाईहरुले शीर्ष प्रायोजनमार्फत यस क्षेत्रमा कस्तो सन्देश जाओस् भन्ने चाहनु हुन्छ ?
नेपाल सरकार, उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसंघको मेकिङ नेपाल भन्ने जुन कन्सेप्ट छ, त्यस लाई सार्थकता दिनका लागि निजी सस्थाहरुले सर्पोट गर्नु पर्छ भनेर अगाडि बढेका छौ । क्यान भनेको हार्डवेयरको संगठन हो भन्ने एउटा भाष्य थियो । त्यो भाष्य लाई परिवर्तन गरेर यो सस्थाले सफ्टवेयर बनाउने सस्थाहरुको पनि प्रतिनिधित्व गर्छ भन्नका लागि यसमा हामीले पनि योगदान गर्नु पर्छ भनेर क्यानको इतिहासमा पहिलो पटक सफ्टवेयर कम्पनीले टाइटल स्पोन्सर गरेको छ । क्यान प्रति आम जनमानसको जुन धारणा छ, त्यो अझै राम्रो, सबल भइकन आईटी सेक्टरको अभिभावकाका रुपमा अगाडि बढाउनु पर्छ भनेर हामीले इन्फोटेक लाई सहयोग गरेका हौं ।
नेपालमा सफ्टवेयर बनाएर अन्तर्राट्रिय बजारसम्म पुर्याउने इन्फोडेभलपर्सको मेनिफेस्टो हो । त्यसैकारण केहि समय अगाडि मात्रै नेपालको पहिलो बैंकिङ सफ्टवेयर पुमोरी मर्ज गरेका छौ । नेपाली सफ्टवेयर पनि सक्षम छन्, नेपाली कम्पनी पनि सक्षम छन् भन्ने सन्देश आमजनतालाई दिन इन्फोटेकसँग सहर्काय गरेका हौं ।
मेलाको प्रमुख प्रायोजकका रूपमा रहेको इन्फोडेभलपर्सका प्रमुख आकर्षण के हुन सक्छन् ?
इन्फोडेभलपर्स २० वर्ष पुरानो कम्पनी हो । हामीले आईसीटीका विभिन्न क्षेत्रमा सेवा सुबिधा दिदैं आइरहेका छौ । सफ्टवेयर उपभोग गर्ने बस्तु होइन, त्यसैले खासै अफर वा छुट दिने भन्ने छैन । नेपालको आर्थिक अवस्थाका कारणले पनि नेपालका हरेक सफ्टवेयर कम्पनीले सहुलियत मूल्यमै काम गरिरहेका छन् । बिदेशी कम्पनीको तुलनामा हाम्रो मूल्य निकै कम छ ।
हामीले मुख्यगरी पुमोरी सफ्टवेयरलाई प्रोजेक्ट गरेका छौं । पुमोरी ३० वर्ष अगाडि नेपालमै बनेको र निरन्तर संचालन भइरहेको प्रडक्ट हो । सायद नेपालको कुनै पनि यस्तो सफ्टवेयर छैन होला, जुन सफ्टवेयर ३० वर्षदेखि निरन्तर चलिरहेको होस् । पुमोरी निरन्तर चलिरहेको छ र धेरैको रोजाइमा पर्न सफल भएको छ । पुमोरी बाहेक इन्फोडेभलपर्सका अन्य सफ्टवेयर इन्फिनिटी, इम्पावर, मोबाइल बैकिङ, वेल्थलगायतका प्रडक्ट प्रदर्शनीमा राखेका छौ । हामीले हाम्रा प्रडक्टहरुको ब्रान्डिङ गर्ने र यस सम्बन्धि जानकारीहरु दिने काम गर्छौ । हामी हार्डवेयरमा क्रेटर हुन सक्दैनौ, सफ्टवेयर र एप्लीकेसनमा क्रेटर बन्न सक्छौ ।
नेपालमा सफ्टवेयर क्षेत्रको विकासले त्यति गति लिन सकेको छैन भनिन्छ नि ?
नेपालमा आजसम्म सफ्टवेयरको विकासमा जे जति काम भएको छ, त्यो सबै व्यवसायी र निजी क्षेत्रले नै गरेको हो । यसको विकासमा सरकारले खासै कुनै भुमिका नै खेलेको छैन । सरकारले नेपाली कम्पनी वा प्रडक्टहरु लाई प्रवद्र्घन गर्ने खालको कुनै निती नियम ल्याएको देखिदैन । सार्वजनिक खरीद ऐनमा केहि राम्रा कुराहरु छन् । नेपाली कम्पनी लाई बिदेशी कम्पनीको तुलनामा १५ प्रतिशतभन्दा बढि मूल्य छ भने पनि नेपाली लिनु पर्छ भन्ने छ । तर बिदेशी प्रडक्ट डलरमा हुने भएकाले आफै महङ्गो भई हाल्छ र नेपाली सस्तो हुने भएकाले यो सहुलिएतको कुनै सार्थकता छैन । हेर्दाखेरी त सहयोग गरेको जस्तो देखिन्छ तर वास्तवमा यस्तो प्रावधानले कुनै सहयोग पुर्याउन सकेको छैन ।
नेपालमा सफ्टवेयरको विकासका लागि सरकारबाट कस्तो सहयोगको अपेक्षा राख्नु भएको छ ?
सरकारले आईसीटी क्षेत्रको विकास गरेर देशको जीडीपीमा ५÷७ प्रतिशत योगदान पुर्याउने बनाउछु भनेर प्रतिवद्घता गर्नुका साथै त्यसै अनुसारको अवधारणा, निती नियम ल्याउनु पर्ने हो । त्यस्तो आउन सकेको छैन । जुन किसिमको पोलिसी चिन, अमेरिका, भारत, बङ्लादेशलगायतका देशमा छ, त्यस्तो यहाँ केहि पनि छैन । सरकारले डिजिटल नेपाल भन्ने अवधारणा पनि ल्याएको छ, त्यसमा बिदेशीले पनि राम्रैसँग काम गरिरहेका छन् । एपएनसीसीआई र सीएनआईले ल्याएको मेकिङ नेपाल भन्ने अवधारणाले यस क्षेत्रको विकासमा केहि बल पुग्छ जस्तो लाग्छ । सरकारका उच्च पदमा बसेका व्यक्तीहरुले स्वदेशी उत्पादन लाई बिदेशमा चिनाउने, ब्रान्डिङ गर्दिने र निती नियमले पारेका अप्ठयाराहरु फुकाइदिने काम गर्नु पर्ने हो तर दुर्भाग्य अहिलेसम्म त्यस्तो हुन सकेको छैन । यसले गर्दा नेपाली कम्पनीहरु लाई बिदेशी कम्पनीका प्रडक्टहरुसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ । नेपालमा जति पनि आईटी सर्भिसहरु आइरहेका छन्, तिनीहरुले हामीहरु लाई पर्फरमर होइन कन्जुमर बनाई रहेको छ ।
संसारमा केहि कुरा आउने बित्तिकै त्यो नेपालीले सबैभन्दा धेरै प्रयोग गर्छन । अहिले च्याट जीपीटी भन्ने आएको छ, त्यो प्रयोग गर्ने पहिलो नम्बरमा नेपाली छन् । नेपालीहरु संसारकै वेस्ट कन्जुमर हुन । हामीहरु अब वेस्ट पर्फरमर हुनु पर्यो । नेपाली सफ्टवेयर लाई सरकार तथा कम्पनीहरुले पहिलो प्राथमिकतामा राख्नु पर्छ ।
नेपालमा बिदेशी कम्पनीले बनाएका सफ्टवेयरको प्रयोगको अवस्था कस्तो छ ?
अहिले पनि नेपालका कर्मसियल बैंकहरुले बाहिरबाटै सफ्टवेयर किनी रहेका छन् । हामीहरुले नेपाली प्रडक्ट बेच्न सर्घस गरिरहेका छौ । टेण्डर निस्कन्छ, नेपाली लाई नहुने खालको निस्कन्छ । यसको विरुद्घ पनि हामीहरुले अभियान चलाई रहेका छौ । नेपालको काम नेपालीले गर्न पाउनु पर्छ । नेपाली कम्पनीहरु लाई काम गर्न सजिलो हुनेखालको प्रावधान बनाइनु पर्छ । नेपालको पुमोरी सफ्टवेयरले ३० वर्षदेखि काम गरिरहेको छ । ३० वर्षमा एकपटक पनि डाउन भएको छैन । समस्या नआउने सफ्टवेयर संसारमा कुन छ र ? टी–टेलिफा, फिनाकल सबैमा समस्या आउँछ नी । समस्या लाई आफ्नो प्रयासले राम्रो बनाएर निराकरण गर्दै अगाडि बढ्ने हो नी । नेपालीले नेपाली लाई नै बिश्वास नगर्ने समस्या छ ।
नेपाली सफ्टवेयरका विशेषता के हुन् ?
नेपालमा बनेका सफ्टवेयर कम मूल्यमा उपभोक्ताले प्रयोग गर्न पाउँछन् । कम मूल्यमा सर्भिस पाइन्छ । सर्भिस दिने मान्छेहरु नेपालमै हुने भएको कारणले २४ सैं घण्टा सेवा लिन सकिन्छ । नेपालीहरुले बिदेशीको लागि सफ्टवेयर बनाई रहेका छन् भने पक्कै पनि नेपालीले आफै बनाएर बिदेश पठाउन पनि सक्छन । हामीहरु बढि आउटसोर्सिङ बिश्वास गर्छौ । आउटसोर्सिङ व्यवसाय भनेको आईटी कुल्ली हो । हामी आईटी कुल्ली बन्ने आईटीको क्रेटर बन्ने । म चाहिँ सधै इनसोर्सिङमा बिश्वास गर्छु । हामी आफैले प्रडक्ट बनाउने, त्यो प्रडक्टको इण्टरनेसनल प्रर्पटी राइट आफैसँग हुन्छ । अनी हाम्रो हिसावले हाम्रो मूल्यमा आफुलाई जसरी सजिलो हुन्छ त्यसरी नेपालमा बेच्ने र बिदेशमा बेच्ने । जसरी बिदेशीहरुले अहिले गरिरहेका छन् ।
भारतमा पनि नेपालको जस्तै समस्या छ । भारतले आउटसोर्सिङ व्यवसाय गरेर अर्बौ डलर कमाउँछन् । त्यहाँका आईटी प्रोफेशनहरु एकदमै धनी छन् तर देशले केहि पाइरहेको छैन । भोलीको दिनमा अमेरिका र युरोपले कुनै बेला बन्द गरिदियो भने भारतको आटी प्रोफेशनहरुको कमाई छ, त्यो एकै छिनमा सकिन्छ । यो मैले भनेको हैन । भारतको आईपी स्कलरहरुको सस्था अरबिन्द फाउन्डेसनका एक जना विद्वानले आफ्नो पुस्तकमा यो कुरा उल्लेख गरेका छन् ।
हामीले ३ सय ५० जना कर्मचारी लाई रोजगारी दिइरहेका छौ । हामी जस्ता अरु कम्पनीहरु पनि छन्, उनीहरुले पनि धेरै जना लाई रोजगारी दिइ रहेका छन् । सरकारले यो कुराको मूल्याङ्न गरेको छैन । स्वदेशमै रोजगारी सृजना र बिदेशी मुद्रा आर्जन गर्न स्वदेशी कम्पनीहरुको समस्या बुझेर त्यसलाई समाधान गरि सहज वाताबरण बनाई दिने काम सरकारले गर्नु पर्छ ।
अन्त्यमा क्यान सफ्टटेक मेला सफल हुने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
क्यान सफ्टटेकको यो पाँचौं संस्करण हो । यसअघि पनि हामीले सफ्टवेयरका क्षेत्रमा भएका विभिन्न प्रगतिलाई मेलामार्फत प्रदर्शन गरेका थियौं । यसपटक नेपाली सफ्टवेयरका क्षेत्रमा आएको परिवर्तनलाई अझ जानकारीमूलक बनाउने हाम्रो उद्देश्य छ । यसबाहेक नेपालमा अहिले सफ्टवेयरका बारेमा जानकारी राख्न खोज्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । यसकारण पनि यसपटकको मेला पूर्ण सफल हुनेमा म विश्वस्त छु ।