यूटीएलको नाममा ५ अर्ब ३० करोड बढी बक्यौता, कारवाही गर्ने प्राधिकरणको चेतावनी |
काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड (युटिएल)ले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणको बक्यौता रकम नतिरेपछि प्राधिकरणले सूचना जारी गरी रकम तिर्न ताकेता गरेको छ । उक्त सूचनामा जनाइए अनुसार युटिएलले सरकार र प्राधिकरणलाई ५ अर्ब ३० करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको जनाइएको छ ।
२०७३ साल भदौ २० गते युनाइटेड टेलिकमलाई जारी गरिएको आधारभूत टेलिफोन सेवाको अनुमति पत्रपश्चात् त्यस लि. बाट नेपाल सरकार तथा यस प्राधिकरणलाई तिर्नु/बुझाउनु पर्ने अनुमतिपत्र नवीकरण दस्तुरबापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायतका दस्तुर रकम २०७९ पुस मसान्तसम्म५ अर्ब ३० करोड ९४ लाख ४९ हजार १५३.८८ रुपैयाँ कायम हुन आएको प्राधिकरणको सूचनामा उल्लेख छ ।
प्राधिकरणले युटिएललाई हालसम्म बाँकी रहेको सम्पूर्ण बक्यौता यही मिति २०७९ माघ मसान्तसम्म बुझाउन र अन्यथा प्रचलितकानुन बमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ ।