मोलुङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन |
काठमाडौंँ । मोलुङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज माघ १५ गते आइतबार अन्तिम दिन हो । आयोजना प्रभावित स्थानीयले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।
मोलुङ हाइड्रोपावरले पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई भने माघ ३ गतेसम्म मात्रै आइपीओमा आवेदन दिने व्यवस्था थियो । यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ७२ हजार ८५० कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १०% अर्थात ८ करोड २ लाख २५ हजार बराबरको सेयर बिक्री खुला गरेको हो । हाइड्रोपवारले १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २ हजार ५ सय कित्ता सेयर स्थानीयलाई निष्कासन गरेको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरिने सेयरमध्ये ५% ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ । बाँकी ५% सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले मोलुङको इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ ।