माया खोला हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला |
काठमाडौंँ । माया खोला हाइड्रोपावरले आज माघ १३ गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यो मध्ये १०% अर्थात् १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।
यसैगरी, ५% अर्थात् १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र २% अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा माघ २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । इक्रा नेपालले निष्काशनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।