यसै आवमा साढे ५८ लाखलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने |
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) मा मुलुकभर ५८ लाख ५४ हजार २९४ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गर्दैछ । चालु आवमा १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गरिने छ ।
पाँचथर जिल्लाबाट वितरण शुरु भएको राष्ट्रिय परिचय पत्र चालु आर्थिक वर्षमा सातै प्रदेशका १५ जिल्लाका १५६ स्थानीय तहका एक हजार ४०२ वडामा वितरण गर्ने सरकारको योजना छ ।
पहिलो चरणमा चालु आर्थिक वर्षमा झापा, संखुवासभा, सप्तरी, महोत्तरी, ललितपुर, रसुवा, चितवन, स्याङजा, तनहुँ, कपिलबस्तु, गुल्मी, सल्यान, जुम्ला, अछाम र कञ्चरपुरमा राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ ।
आर्थिक वर्ष ०६७⁄६८ को निति तथा कार्यक्रमबाट प्रविधिमा आधारित परिचयपत्र वितरणको व्यवस्था गरिएको थियो । गलत मनसाय राखेर विवरण सच्याए १० वर्षसम्मको जेल सजायको व्यवस्था रहेको छ । उक्त कार्यमा संलग्न अधिकारी पनि कारबाहिको भागिदार हुनु पर्नेछ ।
सरकारले अघिल्लो आर्थिक वर्षमा पहिलो चरणमा पाँचथर जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गरेको थियो । जिल्लाका एक लाख १० हजार जिल्लावासीलाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको थियो ।
त्यसैगरी सिंहदरवार भित्र कार्यरत विशिष्ट व्यक्ति र कर्मचारी गरी थप १० हजारलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसकिएको छ । सरकारले अहिलेसम्म कुल १ लाख १७ हजारलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसकेको जानकारी दिएको छ ।
सरकारले सवै भन्दा पहिले १ सय २ बर्षिया भगवतीदेवी भण्डारीलाई पहिलो राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो ।