बजारमा आयो नयाँ राइड शेयरिङ प्लेटफर्म, राइडरले कुनै कमिसन तिर्नु नपर्ने |
काठमाडौं । नेपाली बजारमा नयाँ राइड शेयरिङ प्लेटफर्मको आगमन भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर सेफ राइड नामक प्लेटफर्म सार्वजनिक भएको हो । कम्पनीका अनुसार हाल पोखरा, बुटवल, भरतपुर र काठमाडौंमा बाइक र कारको राइड शेयरिङ सेवा लिन सकिन्छ ।
यस प्लेटफर्ममा आबद्ध हुन इच्छुक राइडरले बिना कुनै शुल्क रजिस्टर गर्न सक्छन् । त्यस्तै तीन महिनासम्म कुनै किसिमको कमिसन तिर्नु नपर्ने कम्पनीको भनाइ छ । यात्रुको सुरक्षामा केन्द्रित यो प्लेटफर्मबाट आपतकालीन अवस्थामा इमर्जेन्सी एसओएस एक्टिभेट गर्न सकिन्छ ।
‘यात्रुको सुरक्षामा केन्द्रित भएकाले नाम नै सेफ राइड नाम रहेको कम्पनीले जनाएको छ । ‘प्रयोगकर्ताले एप खोल्ने बित्तिकै आफ्नो लोकेसनको राइडर भेटाउन सक्नेछन्’, सेफ राइडका सहसंस्थापक प्रकाश मालाकार भन्छन । राइड शेयर गरिसकेपछि एपबाटै नजिकका मान्छेलाई लोकेसन शेयर गर्न सकिन्छ । उनीहरूले यात्रा गरेको मान्छे र राइडरलाई लिङ्कका माध्यमबाट ट्रयाक गर्न सक्छन् ।
राइडर र यात्रुबीच सम्पूर्ण कारोबार क्याशलेस बनाउन एपमै पेमेन्ट गेटवे समावेश गरेको उनले जनाए । एपमा अहिले आईएमई पेबाट पैसा लोड गर्न सकिन्छ । ‘हामी ईसेवा, खल्तीजस्ता डिजिटल वालेटसँग यसका लागि सहकार्य गरिरहेका छौं’, पुरीले थपे ।