सेयर बजारमा ६ महिनापछि ३२ अंकको सुधार, कारोबार रकम पनि अर्ब नजिक | सरकारी कार्यदलको सुझावले शेयर बजार सकारात्मक प्रभाव
काठमाडौ । करीव ६ महिना पछि नेप्सेमा ३२ दशमलव २४ अंकले बढेको छ । यसले सेयर बजारमा लगानीकर्तामाझ उत्साहको संचार गरेको छ । सरकारी समतिले वित्तीय स्थायीत्व कायम गर्न ब्याजदरमा स्थिरता कायम गर्ने, सेयर बजारमा स्थायित्व कायम गर्ने, ऋणपत्र बजारको विकास गर्ने, बैंक तथा वित्तीय क्षेत्रको संरचना सुधार गर्न ५८ बुँदे प्रतिवेदन अर्थमन्त्रीसामू पेश गरेको छ । यसकै कारण बजारमा उछाल आएको हो ।
प्रतिवेदनकै आधारमा नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर घटाउन निर्देशन दिएपछि लगानीकर्तामा उत्साह देखिएको हो । राष्ट्र बैंकले बैंकहरुलाई बोलाएर ब्याजदर घटाउन निर्देशन दिएपछि उनीहरुले सहमति गरेका थिए । यसले सेयर बजारमा प्रभाव जमाएको जानकारहरुको भनाई छ ।
साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज ३२ दशमलव २४ अंकले बढेर १ हजार १ सय ९८ दशमलव १८ को बिन्दुमा कारोबार बन्द भएको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि अत्याधिक बढेको छ । जसको ७ दशमलव ३१ अंकले बढेर २ सय ५५ दशमलव ३८ अंकमा पुगेर बन्द भएको छ ।
यस दिन कुल १ सय ६४ कम्पनीको २८ लाख १२ हजार २१२ कित्ता शेयर खरिदबिक्री हुँदा ८७ करोड ५५ लाख ७२ हजार ७६३ रुपैयाँको कारोबार भएको छ । बिहिबारको तुलनामा कारोबार ४८ करोड ८२ लाख ७९ हजार रुपैयाँ बराबरले वृद्धि गरेको छ ।
नेप्से बढ्दा आइतबार उत्पादनमूलक क्षेत्रको परिसूचक बाहेक अरु सबै समूहको उपसुचकमा वृद्धि आएको छ । बढ्नेमा सबैभन्दा बढी निर्जीवन बीमा समूह ३ सय १८ दशमलव ०२ अंकले बढेको छ भने जीवन बीमा समूह २ सय ४७ दशमलव ३३ अंकले बढ्यो ।
नेप्से बढेको दिन सबैभन्दा धेरै कारोबार सनराईज बैंकको प्रमोटर सेयरको भयो । बैंकको संस्थापक सेयर ८ करोड १७ लाख बराबरको सेयर किनबेच भएका हुन् ।
यसदिन मात्र १९ कम्पनीको सेयर मूल्य घट्यो । तीमध्ये सबैभन्दा धेरै कैलाश विकास बैंक सेयरमा ६ दशमलव २५ प्रतिशतको गिरावट आयो । सर्वाधिक कमाउनेमा भने कालिका लघुवित्त, आईएमई जनरल इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले बाजी मारे । तीनवटै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि आयो ।