माघ १ गतेदेखि नयाँ सम्पत्ति बीमा निर्देशिका लागू हुँदै, व्यापक फेरबदल | सम्पत्ति बीमाको दर ६५ प्रतिशतले घट्ने अनुमान

काठमाडौं । बीमा समितिले व्यापक फेरबदल गरी तयार पारेको नयाँ सम्पत्ति बीमा निर्देशिका आगामी माघ १ गतेदेखि कार्यान्वयनमा आउने भएको छ । समितिले आज आइतवार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।
समितिले निर्जीवन बीमा (सम्पत्ति र दायित्वको बीमा) व्यवसाय अन्तर्गत अग्नि बीमा लेख र गार्हस्थ्य बीमा लेखलाई एकै निर्देशिका (सम्पत्ति बीमा निर्देशिका) को अधीनमा रहने गरी क्रमशः सम्पत्ति बीमा लेखा र घर बीमा लेखले प्रतिस्थापन गर्नेगरी नयाँ बीमा निर्देशिका ल्याएको हो ।
‘जमिनमा आधारित सम्पत्ति (अचल सम्पत्ति वा अचल सम्पत्तिमा राखिने सम्पत्ति) का लागि जारी गरिने अग्नि बीमाका लागि हालसम्म प्रचलनमा रहेका अग्नि बीमासम्बन्धी सामान्य नियमहरू असान्दर्भिक भइसकेको र बर्तमान बीमा बजारमा भएका थुपै्रै बीमित र बीमकमैत्री नयाँ सिद्धान्त, अभ्यास र प्रचलनहरू अद्यावधिक हुुन नसकेकाले हामीले सम्पत्ति बीमा निर्देशिकालाई परिमार्जन गरेका हौं,’ अध्यक्ष चापागाईले भने ।
जमिनमा आधारित सम्पत्तिका लागि जारी गरिने बीमा लेखले बीमितको इच्छाअनुसार पानीजन्य, हावाजन्य, जमिनजन्य, चट्याङजन्यलगायतका विभिन्न जोखिमहरूको रक्षावरण गर्ने गरेको भए पनि बीमा लेखको नामचाहिँ अग्नि बीमा बीमालेख राखिएको हुनाले ग्राहकको बीमा लेखप्रतिको बुझाइमा फरक पर्न गएको छ ।
विद्यमान अग्नि बीमालेख लिन चाहने बीमितले अग्नि र भूकम्प अनिवार्य रूपमा लिनैपर्ने र अन्य जोखिम स्वेच्छिक रूपमा लिन वा नलिन सक्ने व्यवस्था रहेको तथा एउटै प्याकेजमा आधारभूत सबै जोखिमहरूको रक्षावरण नहुँदा बीमकलाई व्यावहारिक रूपमा कठिनाइ पर्नुका साथै अलगअलग जोखिमको लागत जोड्दै लैजाँदा बीमा शुल्क महँगो पर्ने गएको, विद्यमान अग्नि बीमासम्बन्धी सामान्य नियममा नेपालका बीमायोग्य सम्पत्तिहरूको व्यावहारिक रूपमा वर्गीकरण नगरिएको, वर्गीकरण गरिएका कयौं उद्योगहरू पनि नवीन प्रविधिका कारण लोप भइसकेको र हाल प्रचलनमा रहेका नयाँ प्रकारका उद्योगहरू छुट भएको, विद्यमान अग्नि बीमासम्बन्धी सामान्य नियममा बीमायोग्य सम्पत्तिलाई ५२ प्रकारमा वर्गीकरण गरिएको र ५२ वटा नै बीमा दर लगाइएको र प्रत्येक दरका लागि जोखिमको मात्राको विश्लेषण नगरिएको, विद्यमान अग्नि बीमादरसम्बन्धी सामान्य नियममा बीमा लेखको प्रकार नखुलाइएको र विद्यमान अग्नि बीमादरसम्बन्धी नियमको भाषाशैली, प्रस्तुति र ढाँचा जटिल र क्लिष्ट रहेको छ । यी सबै समस्याहरूलाई एकसाथ हटाउनका लागि पनि समितिले नयाँ निर्देशिका लागू गर्न लागेको समितिले जानकारी दिएको छ ।
एक महिनाभित्रमा बीमकहरूले आफ्नो हालको सफट्वेयरमा हाल जारी गरिएको सम्पत्ति निर्देशिकाअनरुप मिलान गर्न तथा बीमालेख छाप्नुपर्ने छ । यसअन्तर्गत व्यावसायिक प्रयोजनका लागि सम्पत्ति बीमा लेख र आवासीय घरको प्रयोजनका लागि घर बीमा लेख लिन सकिने गरी मूल रुपमा दुईवटा बीमा लेख हुने पनि छ ।
सम्पत्ति बीमा लेख तथा घर बीमा लेखअन्तर्गत सबै प्रकारका बीमायोग्य जोखिमको बीमा एउटै बीमालेखमा रक्षावरण हुनेछ । व्यावसायिक बीमा लेखलाई सम्पत्ति बीमा लेख र घर बीमा लेखको रूपमा छुट्याइएको छ । यी दुबै बीमा लेखभित्र नै अग्निजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, भूमिजन्य क्षति, खस्ने वा भासिनेसम्बन्धी क्षति, विष्फोटनजन्य क्षति, आकाशीय सामग्रीजन्य क्षति, धक्का दिएर, छोएर, लडेर व लागेर हुने क्षति, स्वजलन, हुलदंगा वा आतंकवादबाट हुने क्षति, मिसाइल टेष्टिङ अपरेशनका कारणले हुने क्षति आदिलाई समावेश गरिएको छ ।
अब लागू हुने निर्देशिकाअनुसार बीमा गर्दा सबै बीमायोग्य जोखिम लिँदा कुुल बीमा शुल्कमा ६५ प्रतिशतले घट्न सक्ने तथा घर बीमाअन्तर्गत १ करोड रुपैयाँभन्दा कम मुल्यको घरको बीमा प्रतिहजार ४० पैसा (हुलदंगा तथा आतंकवाद जोखिम बाहेक) मा बीमा गर्न सकिनेछ । हाल प्रचलनमा रहेको अनिवार्य जोखिम (अग्नि र भूकम्पसहित सबै बीमायोग्य जोखिम लिँदासमेत कुल बीमा शुल्कमा ६५ प्रतिशतका दरले बीमा दर घटी हुने र यसले गर्दा बीमाको दायरा अझ फराकिलो हुने विश्वास पनि समितिले गरेको छ ।
नयाँ निर्देशिकाअनुसार सबै प्रकारका बीमायोग्य जोखिमहरू एउटै प्याकेजमा अनिवार्य गरिएको र हुलदंगा तथा आतकंवाद जोखिम समूहबाहेक अन्य कुुनै पनि जोखिम हटाउन पाइने छैन । नेपालभर बीमायोग्य सम्पत्तिलाई ५ सय ४८ वटा क्षेत्रमा वर्गीकरण गरिएको र जसलाई जोखिमका आधारमा पुन सातवटा समूहमा वर्गीकरण गरिएको र प्रत्येक वर्गका लागि अलगअलग गरी कुल सातवटा बीमा दर लागू हुनेछ ।