बागबजारमा खुल्यो कालिज रेष्टुरेण्ट, चाख्ने होइन त कालिजका परिकारको स्वाद ! |

काठमाडौं । काठमाडौंमा पंक्षीका नाममा अर्को एउटा रेष्टुरेण्ट थपिएको छ । यूरोप बसेर नेपाल फर्किएका केही युवाहरूको समूहले बागबजारमा ‘कालिज रेष्टुरेण्ट’ सञ्चालनमा ल्याएका हुन् । उक्त रेष्टुरेण्टको हिजो शनिवार नेकपाका स्थायी कमिटी सदस्यद्वय घनश्याम भुषाल र योगेश भट्टराई एवम् बेदुराम भुषाल, केन्द्रीय सदस्य दिलु पन्तलगायतले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
युवा संघका महासचिव नरेशकुमार शाहीको अगुवाइमा केही युवाहरूले मिलेर चाल्ना खेलमा कालिज फर्म सञ्चालन गरेका छन् । सोही फर्ममा व्यावसायिक रूपमा पालिएका कालिजका विभिन्न परिकारको स्वाद बागबजारस्थित उक्त रेष्टुरेन्टमा चाख्न पाइन्छ ।
बागबजारस्थित श्रेष्ठ टेलरिङको अगाडि रहेको उक्त रेष्टुरेन्टमा कालिजका विभिन्न परिकारहरू उपलब्ध गराइने सञ्चालकहरूले जानकारी दिएका छन् ।
नेपालमा कालिजको चोरी शिकारीमाथि बन्देज भए पनि कालिजको मासुका पारखीहरूको संख्या भने कम छैन । राजनीतिसँगै व्यवसायमा पनि हात हालेका युवा संघका महासचिव शाहीले आर्थिक रूपमा आत्मनिर्भर रहनुपर्ने निष्कर्षसहित कालिज फर्म र रेष्टुरेन्ट सञ्चालन गरेको बताए ।
चाल्नाखेलको एभरेष्ट वाइल्ड लाइफ एग्रो र बागबजारको कालिज रेष्टुरेन्टमा यूरोपबाट फर्किएका युवा ज्ञानेन्द्र तिमल्सिना, बाबुराम श्रेष्ठलगायतको पनि लगानी रहेको छ । दुवै कम्पनीको अध्यक्षका रूपमा सुशील भट्टराईले नेतृत्व गरिरहेका छन् ।