श्रम स्वीकृति लिनुपूर्व गरिने बीमामा पनि ठगी ! | प्राइम लाइफ नामबाट जारी झण्डै ६ सय बीमा लेख नक्कली, तीन कर्मचारीसहित ५ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा ठगी भइरहेको खुलासा भएको छ । उक्त कम्पनीको नामबाट जारी भएका करिब ६ सय बीमा लेख नक्कली भएको खुलासा भएको हो । वैदेशिक रोजगारीको श्रम स्वीकृति लिनुअघि गरिने बीमाको बीमा लेख नक्कली भएको प्रहरीले बताएको हो ।
बीमा लेख नक्कली भएको पाइएपछि तीन कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिई सोसम्बन्धमा अनुसन्धान शुरू गरेको छ । प्रारम्भिक अनुसन्धानमा बीमा गरिएको रकमसमेत कर्मचारीले आफ्नै खातामा राखेको पाइएको प्रहरीले बताएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीआइजी निरज शाहीले प्राइमको नामबाट जारी भएका ५ सय ७४ जनाको बीमा लेख नक्कली भएको खुलेको बताए । कम्पनीको नामबाट कर्मचारीले नै ठगी गरेको हुन सक्ने शाहीले बताए । डीआइजी शाहीले भने, ‘कम्पनीको नाममा ठगी भएको भेटिएको छ । हामी थप अनुसन्धान गरिरहेका छौं ।’
ब्यूरोको टोलीले नक्कली बीमा गरेको अभियोगमा प्राइमका कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । कम्पनीका कर्मचारी भोला पोखरेल, सुदीप खड्का, प्रकाश रेग्मी नियन्त्रणमा लिइएको हो । यस्तै प्रहरीले ध्रुव रेग्मी र सिंहबहादुर लामालाई पनि नियन्त्रणमा लिएको छ । लामा वैदेशिक रोजगार व्यवसायमा संलग्न छन्।
उनीहरूले बीमा गरिदिएबापत सेवाग्राहीबाट ४ हजार रुपैयाँसम्म लिने गरेको अनुसन्धानमा खुलेको छ । उनीहरूले नक्कली बीमा लेख बनाएर श्रम स्वीकृतिसमेत लिने गरेका थिए । यसरी बीमा गराएकामध्ये अधिकांश विदेशमा रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।