वाणिज्य बैंकहरूलाई नगद लाभांश वितरणमा कडाइ गर्दै राष्ट्र बैंक | बोनस शेयर वितरणमा जोड दिइने, पूँजी कोष साढे १३ प्रतिशत पुर्याइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई चुक्ता पूँजी वृद्धि हुने गरी मात्र लाभांश वितरण गर्न निर्देशन दिने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई ‘काउण्टर साइकल क्यापिटल बफर’ कायम गर्न लगाउने भएको हो । यो व्यवस्था आगामी असार मसान्तसम्ममा लागू गरिसक्ने राष्ट्र बैंकले जनाएको छ ।
यो व्यवस्था कायम गर्नका लागि राष्ट्र बैंकले नाफाबाट नगद लाभांशभन्दा बोनस शेयर वितरण गर्न लगाउनेछ । अहिले बोनस शेयर वितरणका लागि ११ प्रतिशतको पूँजी कोष अनुपात कायम गर्नु पर्ने व्यवस्था छ । राष्ट्र बैंकका अनुसार यसलाई बढाउन खोजिएको हो ।
अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि नेपाली बैंकहरू ऋण विस्तारमा आक्रामक हुँदा जोखिम बढ्दै गएको भन्दै पूँजी वृद्धि गर्न सुझाव दिएको थियो । उक्त संस्थाले बैंकहरूको आक्रामक नीतिका कारण यसलाई बढाएर साढे १३ प्रतिशत पुर्याउन सुझाव दिएको थियो । अहिले अधिकांश बैंकको पूँजी कोष अनुपात १२१३ प्रतिशत छ ।
राष्ट्र बैंकले अब बढाउन लगाउने भनिएको साढे १३ प्रतिशतको पूँजी कोष कायम गर्नका लागि बैंकहरूले चुक्ता पूँजी बढाउनुपर्ने हुन्छ । त्यसो नगर्दा बैंकहरूले ऋण लगानी गर्न सक्दैनन् । आईएमएफको भनाइलाई मानेर जाँदा आधा दर्जन बैंकहरूलाई मात्र सहज अवस्था हुनेछ ।
राष्ट्र बैंकले तीन वर्षअघि मात्र चुक्ता पूँजी चार गुणाले बढाएको थियो । मुद्रा कोषको सुझावभित्र रहेर डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको मुद्रा तथा पूँजी बजारका समस्या समाधानका उपाय दिन बनेको कार्यदलले पनि वाणिज्य बैंकहरूका लागि अझै पूँजी बढाउने संकेत गरेको छ ।